जुगल-४ र ५ आरोहणका लागि आधारशिविरमा पर्वतारोही

जुगलका ११ चुचुरोमध्ये ४ र ५ आरोहण गर्न सात विदेशी पर्वतारोही शनिबार बेसक्याम्प पुगेका हुन्।

कार्तिक २२, २०८२

अनिश तिवारी

Mountaineers at base camp for Jugal-4 and 5 climbs

What you should know

सिन्धुपाल्चोक — काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प पुगेका हुन्।

स्कटल्याण्डका विश्वप्रसिद्ध पर्वतारोही तथा लेखक लिओ हाउल्डिङको नेतृत्वमा नर्वेका हेनरिक बर्गसेन जुगल ४ आरोहणको तयारीमा छन्। त्यस्तै, यूकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोली जुगल ५ आरोहणका लागि बेसक्याम्पमा पुगेको छ। ‘शनिबार केही समूह बेसक्याम्पमा र केही हाइक्याम्पमा पुगेका छन्। आइतबार उनीहरू जुगल ४ र ५ आरोहण गर्ने तयारीमा छन्,’ अध्यक्ष थापाले भने ।

उनका अनुसार यो आरोहणले सिन्धुपाल्चोकको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्नेछ। थापाकै पहलमा आएको टोलीले क्रमशः ५,९३६ मिटर उचाइको जुगल ४ र ५,९२२ मिटर उचाइको जुगल ५ आरोहण गर्ने तयारी गरेको हो। उनले थपे, ‘नोभेम्बर ४ मा काठमाडौंमा स्वागत गरेका यी पर्वतारोही अहिले सुरक्षित रूपमा आरोहण यात्रामा छन्।’

Mountaineers at base camp for Jugal-4 and 5 climbs

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गापाले पर्वतारोहण टोलीलाई पूर्ण सहयोग गरिरहेको छ। थापा अहिले पाँचपोखरी र जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय छन्। यसअघि जुगलको चुचुरो ६ हजार एकसय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ । २३ वैशाख २०८१ मा नेपाल र कोरियाका पर्वतारोही टोलीले जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।

दुई वर्षअघि हिमालयन सेपहर्ड नेपालको आरोहण युनिटसँग गायिका सज्जा चौलागाईंसहित निमाग्याल्जेन शेर्पा, जाइसी स्यालिन्साजस्ता ५ जना आरोहीले जुगल हिमालको ११ मध्ये एक (५ हजार ९ सय २२ मिटर) अग्लो जुगल ५ चुचरो सफलतापूर्वक आरोहण गरेका थिए । २०७५ चैत २९ गते सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले पहिलो पटक जुगलमा मानव पाइला टेक्दै झन्डा फहराएको थियो। त्यस्तै, कात्तिक ३ गते सगरमाथा आरोही शर्मिला लामा स्याङ्तान नेतृत्वको टोलीले पनि सफल आरोहण गरेको थियो। 

बौद्ध परम्पराअनुसार जुगल हिमशृंखलाकै काखमा रहेको फराकिलो क्षेत्र नेपेमासाल (देवताको स्वर्ग) मानिन्छ। यहाँको तोङक्युप गुफा, बुम्बाशेर्बु, श्याबल पोखरी, ब्राह्मायाणी नदीको मूल, हजार गुफा र ग्याप खर्क धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हुन्।

३५ सय मिटर उचाइमा अवस्थित नेपेमासाल र आसपासको प्राकृतिक सौन्दर्य जुगल क्षेत्रलाई देशको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन्।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully