हेटौँडाबाट गएको प्रहरी टोलीले सोमबारदेखि बिहीबारसम्म ३० बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
What you should know
हेटौँडा — मकवानपुर प्रहरीले तीन गाउँपालिकाका विभिन्न वडामा लगाइएको साढे ३० बिघा क्षेत्रफलमा फैलिएको गाँजा नष्ट गरेको छ । राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाका विभिन्न वडामा खेती गरिएका गाँजाका बोट हेटौँडाबाट गएको प्रहरी टोलीले चार दिनमा फडानी गरेको हो ।
हेटौँडाबाट गएको प्रहरी टोलीले सोमबारदेखि बिहीबारसम्म ३० बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुस्कर बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौँडा मकवानपुरबाट संयुक्त रूपमा खटिएको १०२ जनाको टोलीले चार दिनमा साढे ३० बिघा जमिनमा लगाइएको गाँजा फडानी गरेको उनले बताए ।
प्रहरी टोलीले राक्सिराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गतका सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिका अन्तर्गतका भदौरे र ज्यार्बु लगायतका जमिनमा लगाइएको गाँजाका बोट नष्ट गरेका थिए । प्रहरीका अनुसार गाँजा फडानीमा स्थानीय तह, सामुदायिक प्रतिनिधि र सम्बन्धित निकायहरूको पनि सहयोग रहेको थियो ।
मकवानपुरमा गत आर्थिक वर्षमा प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकाको १ सय २० बिघा ४ कठ्ठा जमिनमा लगाइएको गाँजाका बोट फडानी गरेर नष्ट गरेको थियो । त्यसै वर्ष ती दुई गाउँपालिकाको ३९ बिघा १४ कठ्ठा जमिनमा लगाइएको अफिम खेती पनि प्रहरीले नष्ट गरेको थियो । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भूभागमा गाँजा र अफिम खेती गर्ने गरिएको पाइन्छ ।
