खरिद गरिएका मुद्रण मेसिन ललितपुरको एकान्तकुनामा स्थापना गरिएको छ ।
What you should know
हेटौंडा — बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउन ५ थान मुद्रण मेसिन खरिद गरेको छ । खरिद गरिएका मुद्रण मेसिन ललितपुरको एकान्तकुनामा स्थापना गरिएको छ ।
‘सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले ती मेसिनहरू सञ्चालनमा आउन सकेका छैनन् । सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना छपाइ सुरु गर्न सकेका छैनौँ,’ बागमती प्रदेश सरकार श्रम ,रोजगार तथा यातायात मन्त्रालयका सचीव वीरेन्द्र देव भारतीले भने,‘ अनुमति पाउनेबित्तिक्कै लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढाउँछौँ ।’ उक्त एउटा मेसिन प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमताको रहेको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्री जयराम थापाका अनुसार, सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नवीकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्सको पर्खाइमा छन्। आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ।
सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उप दफा ३ मा भएको व्यवस्थाबमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो उनले भने,‘अनुमति पत्र छपाइ प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ।’
हाल बागमती प्रदेशको १२ लाख र देश भरका १३ लाख गरी २५ लाख बढी सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ ।अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाइ ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने, तथा जनताले अनावश्यक दुःख भोग्नु पर्ने अवस्था कायम छ।
बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ।
