बागमती प्रदेश सरकारको लगानीमा लखनखहरे–ज्ञानमन्दिर आधारभूत विद्यालय चिरुवागढन जोड्ने गरी पुल निर्माण हुन लागेको हो ।
हेटौंडा — मकवानपुरको बागमती गाउँपालिका-३ स्थित चिरुवाखोलामा पाँच करोडभन्दा बढीको लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा लखनखहरे–ज्ञानमन्दिर आधारभूत विद्यालय चिरुवागढन जोड्ने गरी पुल निर्माण हुन लागेको हो । ५ करोड ५. लाख ५३ हजार रुपैयाँ लागतमा ०८३ असार ३० गतेसम्म निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । पुलको निर्माण ठेक्का ओम निर्माण सेवाले लिएको छ । पुलको लम्बाइ ४० मिटर र चौडाइ ८.४० मिटर रहनेछ । पुल निर्माणको बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर गरेका छन् ।
पुलको अभावमा स्थानीयले वर्षायाममा समस्या झेल्दै आएका छन् । पुल निर्माणपछि गाउँपालिका कार्यालय, जिल्ला सदरमुकाम र उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न स्थानीय बासिन्दालाई सहज हुने गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।
चिरुवाखोलामा पक्की पुल निर्माणपछि पालिकाको विकट बस्तीको रुपमा रहेको चिरुवागढन क्षेत्रका बासिन्दाले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्नेछ । उक्त पुलको निर्माणपश्चात् ६ सय घरधुरीका बासिन्दा लाभान्वित हुने वडाध्यक्ष कमानसिंह पाख्रिनले बताए ।
