घाइतेमध्ये निमा ग्याल्जेन शेर्पाको परिचय खुलेको छ । मृत्यु हुनेमा ५ जना विदेशी र २ जना नेपाली भनिए पनि पहिचान अझै खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए ।
दोलखा — रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ जना घाइतेको मंगलबार बिहान उद्धार गरिएको छ ।
उनीहरूको मंगलबार बिहान यलुङ री हिमालको बेसक्याम्पबाट उद्धार गरिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए । घाइते अवस्थामा उद्धार हेली एभरेस्टले राजधानी लैजाने तयारी गरेको छ ।
हिमपहिरोमा परेर चार जना घाइते भएका छन् । घाइतेमध्ये निमा ग्याल्जेन शेर्पाको परिचय खुलेको छ । मृत्यु हुनेमा ५ जना विदेशी र २ जना नेपाली भनिए पनि पहिचान अझै खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए ।
यलुङ री हिमाल आरोहणमा विदेशी र नेपाली गरेर १२ जना गएको उनले बताए । मंगलबार बिहानैबाट एभरेस्ट हेलिकप्टरले खोजी तथा उद्धारका लागि यलुङ री पुगेको छ । सेभेन समिटका मिङ्मा शेर्पाले खोजी तथा उद्धारको लिड गरिरहेको प्रहरीले जनाएको छ ।
सञ्चारविहीन क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि समस्या भइरहेको प्रहरीले जनाएको छ । पैदलमार्गबाट गएको नेपाली सेना, सशस्त्र र जनपद प्रहरी पुग्न सकेका छैनन् । उनीहरू बाटोमा बास बसेर बिहानै रोल्वालिङ क्षेत्रतर्फ लागेका छन् । ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ री आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिमपहिरो गएको थियो ।
५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब ८:३० बजे आरोहणमा सहभागी सबैलाई हिमपहिराले पुरेको हो ।
*यसअघि दोलखा प्रहरी प्रमुख ज्ञानकुमार महतोले मृत्यु हुने एक जना विदेशी नागरिकको पहिचान खुलेको बताएका थिए । तर ती व्यक्तिको नाम फरक परेको प्रहरीले नै बताएपछि समाचारबाट हटाइएको छ । -सम्पादक
