बागमतीको बजेट खर्च ६ प्रतिशतमात्र

प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा करिब ६ दशमलव १९ प्रतिशत मात्र बजेट खर्च गरेको छ।

कार्तिक १७, २०८२

सुवास विडारी

Bagmati's budget expenditure is only 6 percent

मकवानपुर — बागमती प्रदेश सरकार बजेट खर्चको मामिलामा कमजोर देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा करिब ६ दशमलव १९ प्रतिशत मात्र बजेट खर्च गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आवको पहिलो तीन महिनामा चालुतर्फ ११ दशमलव ४८ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ९० लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब १ करोड ८८ लाख रुपैयाँ अर्थात् २ दशमलव ८७ प्रतिशत बजेट खर्च भएको छ। यस अवधिमा वित्तीय प्रगति शून्य रहेको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले कुल ६७ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। जसमध्ये चालुतर्फ २६ अर्ब ४४ लाख र पुँजीगततर्फ ४१ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

बजेट निर्माण लगत्तै सरकारको फेरबदल र पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताका कारण पहिलो चौमासिकमा सरकारले सोचअनुसारको बजेट खर्च गर्न नसकेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए। उनका अनुसार दोस्रो चौमासिकदेखि बजेट खर्च बढ्नेछ। त्यसका लागि सरकारले गृहकार्य गरिरहेको उनले बताए।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully