मकवानपुर र चितवन गरी दुई जिल्ला कार्य क्षेत्र रहेको हेटौंडा इजलासमा अहिले ८ सय ८१ थान मुद्दा छन् ।
हेटौंडा — भदाै २४ मा प्रदर्शनकारीले आगजनी र तोडफोडबाट क्षति पुगेकाे उच्च अदालत पाटनको हेटौंडा इजलास आजदेखि पूर्णरुपमा सचालनमा आएको छ।
आगजनी र तोडफोडका कारण भदौ २८ गतेसम्म अदालतले कुनै पनि सेवा दिन सकेको थिएन । भदौ २९ बाट बन्दीप्रत्यक्षीकरण, पक्राउ पुर्जीको अनुमतिलगायत आंशिक सेवा सुरु गरेको थियो । असोज १६ बाट पुनरावेदन र रिट दर्तालगायतका काम पनि सुरु गरेको थियो । आजदेखि मुद्दा र रिट निवेदनको सुनुवाई सुरु गरिएको हेटौंडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले बताए ।
आगजनीबाट हेटौंडा इजलासको मुख्य भवनको तल्लो तलामा पूर्ण क्षति भएको छ । चार वटा इजलास रहेको यो अदालतको एक नम्बर इजलास जलेर नष्ट भएको छ । आगजनीबाट भवनको तल्लो तलामा रहेका सबै कोठाका फर्निचर, कम्प्युटर, ल्यापटलगायतका सबै सामान नष्ट भएका थिए ।
अदालत परिसरमा रहेका २ वटा सवारीसाधन र भवनको दोस्रो तलामा रहेको एक नम्बर इजलासमा रहेका फर्निचरलगायत सबै सामान जलाइदिएको हेटौंडा इजलासका उपरजिष्ट्रार लामिछानेले जानकारी दिए । उनका अनुसार अदालतमा रहेका मिसिलहरु भने सबै सुरक्षित छन् । आगजनी र तोडफोडबाट अदालतको ३ करोड ५३ लाख १८ हजार ४ सय ४९ रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
७ न्यायाधीशको दरबन्दी रहेको हेटौंडा इजलासमा ६ जना कार्यरत छन् । यहाँ सबै ६ जना महिला न्यायाधीशसहित रजिष्ट्रार पनि महिला छन् । एक नम्बरको इजलास जलेर नष्ट भएका कारण उक्त अदालतमा अब तीन वटा मात्र इजलास संचालन हुने उपरजिष्ट्रार लामिछानेले बताए ।
मकवानपुर र चितवन गरी दुई जिल्ला कार्य क्षेत्र रहेको हेटौंडा इजलासमा अहिले ८ सय ८१ थान मुद्दा चालु अवस्थामा छन् । अहिले अदालतले आफ्नै भवनबाट कार्य सम्पादन गर्दै आएको छ ।
