सिस्नेरी–दक्षिणकाली सडकको पहिरो पन्छाउँदै
हेटौंडा — सडकमा खसेको ढुंगामाटो पन्छाएर कान्तिलोक पथमा सवारी साधनहरु आउजाउ गर्न थालेका छन् ।
मकवानपुर बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडक खण्डमा बाटोमाथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो खसेको जानकारी पाउने वितिक्क अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट प्रहरीले टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोग र मेशिन प्रयोग गरेर सडक अवरोध पन्छाएको थियो ।
सडक सञ्चालन भएपछि दुवैतर्फ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी सिस्नेरी–दक्षिणकाली सडक खण्डको ज्यामिरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।
इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बेलुका सडक माथिबाट पहिरो खसेर कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको थियो । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए । डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।
