पाँच दिनदेखि बेपत्ता व्यवसायी मृत भेटिए

कात्तिक १२ गतेदेखि घरबाट बेपत्ता भएका दोलखाका थापाको हात्तीचरण सामुदायिक वनमा आइतबार शव भेटिएको हो ।

कार्तिक १६, २०८२

प्रताप विष्ट

Businessman missing for five days found dead

हेटौंडा — मकवानपुर बकैया गाउँपालिका-७ बाट पाँच दिनदेखि बेपत्ता भएका कुखुरा व्यवसायी ४२ वर्षीय पूर्णबहादुर थापा मृत भेटिएका छन् । 

कात्तिक १२ गतेदेखि घरबाट बेपत्ता भएका दोलखाका थापाको हात्तीचरण सामुदायिक वनमा आइतबार शव भेटिएको हो । हात्तीखोलामा लामो समयदेखि कुखुरा पाल्दै आएका थापाको शव सालको रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । प्रहरीका अनुसार थापाको शव कुखुरा फार्मभन्दा एक किलोमिटरको दूरीमा भेटिएको हो । 

स्थानीयवासी घाँस-दाउरा गर्न वनमा गएका बेला थापा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए  । घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षकको टोली पुगेर मुचुल्कापछि शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully