इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सडकमा माथिबाट पहिरो खसेकाले सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको हो ।
हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग सिस्नेरी–दक्षिणकाली सडक खण्डको ज्यामिरेमा शनिबार अपराह्न पहिरो गएकाले हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको छ ।
केही दिनदेखि लगातार परेको वर्षाका कारणले इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सडकमा माथिबाट पहिरो खसेकाले सिस्नेरी—दक्षिणकाली सडक अवरुद्ध भएको हो ।
सडकमाथिबाट पहिरो झरिरहेकाले अहिले पन्छाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले भने, ‘भोलि बिहान अर्थात् आइतबार बिहानदेखि पहिरो पन्छाउने काम गर्नेछौँ ।’ रात पनि परिसकेको र पहिरो पनि झरिरहेकाले अवरोध पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
