इन्टरनेटको प्रयोग गरेर स्क्याम तथा अनलाइन ठगीको घटना बढ्दै गएको हो ।
हेटौंडा — मकवानपुरमा बर्सेनि साइबर अपराधका घटना बढ्दै गएका छन् । इन्टरनेटको प्रयोग गरेर स्क्याम तथा अनलाइन ठगीको घटना बढ्दै गएको हो ।
अनलाइनबाट स्क्याम वा ठगी हुने क्रम बढेपछि प्रहरीमा उजुरी दिनेको संख्या पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आवको ०८२/०८३ को पहिलो तीन महिनामा मात्रै अनलाइन ठगी वा स्क्याममा परेको भन्दै ५२ जनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।
गत आर्थिक वर्ष ०८१/०८२ मा २ सय २३ जनाले अनलाइन स्क्याम भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । अघिल्लो आवमा २०८०/०८१ मा अनलाइन ठगीविरुद्ध ९४ जनाको मात्र प्रहरीमा उजुरी परेको प्रहरीको तथ्यांक छ । विशेषगरी ईसेवा, अनलाइन बैकिङलगायतका अनलाइनबाट आर्थिक कारोबारमा ठगी अर्थात् साइबर अपराधसम्बन्धी उजुरी आउने गरेको प्रहरीले जनाएको छ । अनलाइन किनमेलमा पनि ठगी हुने गरेको भनी प्रहरी कार्यालयमा उजुरी आउने गरेको प्रहरी प्रवक्ता बोगटीले बताए ।
अनलाइन ठगीपछि पीडितको समस्या समाधान भने कमैको मात्र हुने गरेको छ । गत आवमा २ सय २३ जनाले उजुरी गरेकोमा २७ जना पीडितको मात्रै समस्या समाधान भएको पनि प्रहरीको तथ्यांक छ । चालु आवको साउनयता ५२ जनाले अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएकोमा हालसम्म २ वटा उजुरीको मात्र टुंगो लागेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चालु आर्थिक वर्षको असोजसम्म फेसबुक ह्याक, फेक फेसबुक आईडी, टिकटकलगायतका सामाजिक सञ्जालसम्बन्धी अपराधविरुद्ध २४ वटा उजुरी परेका छन् । गत आवमा १ सय ७० वटा सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधविरुद्ध उजुरीहरु परेको प्रहरी कार्यालयले जनाएको छ ।
