माडी बरूवाको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको टोली उनको खोजीमा आज बिहान साढे ६ बजेदेखि नै जुटेको थियो । साढे सात बजेतिर गाउँदेखि डेढ किलो मिटर पर रहेको रिउ किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
चितवन — घोँगी खोज्न भनेर हिजो (शुक्रबार) दिउँसो घरबाट निस्केका माडी नगरपालिका-१ पाण्डवनगरका ६५ वर्षीय बुद्धिराम बोटे शनिबार बिहान खोलामा मृत फेला परेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार बुद्धिरामको शव रिउ खोला किनारको दलदलमा घोप्टो परेको अवस्थामा भेटिएको हो ।
बुद्धिराम शुक्रबार दिउँसो एक बजे घोँगी टिप्न भनेर घरबाट निस्के पनि साँझसम्म घर नफर्केपछि खोजी सुरू भएको थियो । माडी बरूवाको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको टोली उनको खोजीमा आज बिहान साढे ६ बजेदेखि नै जुटेको थियो । साढे सात बजेतिर गाउँदेखि डेढ किलो मिटर पर रहेको रिउ किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
क्यान्सर भएका बुद्धिका छोरा पनि आजै बिते :
हराइरहेका बुद्धिको शव फेला परेको खबर उनका जेठा रविलाल बोटेले सुन्न पाएनन् । बुद्धिरामको शव फेला परेको खबर घर आइनपुग्दै रविलालको पनि मृत्यु भइसकेको थियो । माडी नगरपालिका-१ का वडाध्यक्ष अमित लामाका अनुसार बुद्धिरामका तीन भाइ छोरामध्ये जेठा रविलाई क्यान्सर भएको थियो । सोही कारण रविको पनि आज बिहानै निधन भएको वडाध्यक्ष लामाले बताए ।
पहिले पनि भालु र गौरीगाईले आक्रमण गरेको थियो बुद्धिरामलाई :
माडीको पाण्डवनगर चितवनका आदिवासी समुदाय बोटे बहुल गाउँ हो । चितवन निकुञ्ज र सोमेश्वर जंगल आडको यो गाउँमा बस्नेहरू प्राय विपन्न छन् । त्यसैले जंगली साग र निउरो टिप्न र रिउ र देउती खोलामा माछा, गँगटा, घोँगी खोज्न गइरहन्छन् ।
यसरी घरदेखि पर जंगल र खोला धाउनेहरूलाई जंगली जनावरले आक्रमण पनि गर्छ । बुद्धिराम पनि पहिला आक्रमणमा परेका थिए । चितवन निकुञ्जको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालयका सचिव जगनारायण बोटेले बुद्धिरामलाई दुई वर्षअघि जंगल गएका बेलामा गौरी गाईले आक्रमण गरेको थियो ।
त्योभन्दा पहिला उनलाई एक पटक भालुले पनि आक्रमण गरेको थियो । गम्भीर घाइते भए पनि उपचार गरेर निको भएका थिए । ‘पाण्डवनगरमा बोटेका ४०/५० घर छन् । प्राय सुकुम्वासी हुन् । लालपुर्जा हुनेहरूको पनि जग्गा खोलाले कटान गरेको छ । जंगल र खोला गएर माछा, घोगी खोज्नु पर्ने बाध्यता छ,’ जगनारायण बोटेले भने ।
बुद्धिरामको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । वडाध्यक्ष अमित लामा तथा अन्य स्थानीयले बुद्धिराम बेलाबेलामा बेहोस हुने छारे रोगबाट पनि ग्रसित भएको बताएका छन् ।
