अरनिको राजमार्गअन्तर्गत भक्तपुर-साँगा सडकखण्ड एकतर्फी मात्र सञ्चालन

साँगामा ग्यास बोक्ने बुलेट गाडी हिलोमा फसेपछि यातायात एकतर्फी

कार्तिक १४, २०८२

सुन्दर शिल्पकार

Bhaktapur-Sanga road section along Araniko Highway to be operated in one direction only

भक्तपुर — अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुर र काभ्रे सिमाना साँगा सडकखण्ड हिलाम्मे हुँदा सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

साँगामा ग्यास बोक्ने बुलेट गाडी हिलोमा फसेपछि यातायात एकतर्फी मात्रै सञ्चालन गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिएकी छन् ।

उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने सवारीसाधनलाई जगातीबाट च्याम्हसिंह हुँदै नालाको बाटोबाट सडक डाइभर्ट गरिएको छ । हिलोमा फसेको ग्यास बुलेट बोक्ने गाडी हटाउन क्रेन आवश्यक भएकाले क्रेन मगाइसकिएको र सडक दुईतर्फी खोल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

हिजो (बिहीबार) बिहान पनि साँगा सडकखण्डमा ग्यास बुलेट बोक्ने गाडी हिलोमा फसेपछि भक्तपुरबाट काभ्रे जाने सवारीसाधन नालाबाट डाइभर्ट गरिएको थियो । उक्त सडकखण्डमा हिजो नै केही ग्राभेल हाले पनि आज पुनः सवारीसाधन हिलोमा फस्ने समस्या आएको ट्राफिक प्रहरी निरीक्षक सोनारको भनाइ छ ।

सूर्यविनायक–धुलिखेल सडक ६ लेनमा स्तरोन्नति भइरहेको हुँदा साँगा क्षेत्र पानी परेपछि हिलाम्य हुने गरेको छ । सडक हिलाम्य हुँदा भक्तपुरबाट काभ्रे जाने सवारीसाधन उकालो बाटोमा चिप्लिएर चलाउनै मुस्किल हुने गरेको छ ।

सुन्दर शिल्पकार

Link copied successfully