२०८२ भदौ २४ गते काभ्रेपलाञ्चोकका विभिन्न सरकारी तथा प्रहरीको कार्यालय भवन र सम्पत्तिमाथि तोडफोड, आगजनी र लुरपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
काभ्रे — जेन-जी आन्दोलनमा तोडफोडमा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
२०८२ भदौ २४ गते काभ्रेपलाञ्चोकका विभिन्न सरकारी तथा प्रहरीको कार्यालय भवन र सम्पत्तिमाथि तोडफोड, आगजनी र लुरपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, पनौती नगरपालिका-३ का २८ वर्षीय अनिश सापकोटा, पनौती-८ का २६ वर्षीय सुमन केसी, बनेपा नगरपालिका-१० का २१ वर्षीय साकार केसी, बेथानचोक गाउँपालिका-६ का १९ वर्षीय समिर तामाङ, बेथानचोक-३ का ३२ वर्षीय चिउरे भन्ने होमप्रसाद तिमिल्सिना, पनौती-२ का २४ वर्षीय स्यान्जी भन्ने सुवास तामाङ, महाभारत गाउँपालिका-४ का २३ वर्षीय नेमासाङ मोक्तान रहेका छन् ।
पक्राउ परेकामध्ये सापकोटाविरुद्ध ०७२ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको, तिमिल्सनाविरुद्ध ०८१ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको, तामाङविरुद्ध ०८१ मा तीन पटक चोरी मुद्दा २ वटा र ०८२ सालमा एक वटा मुद्दा दर्ता भएको उनले बताए । उनीहरुलाई विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए । उनका अनुसार, पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
जेन-जी आन्दोलनको क्रममा बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे लगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो ।
