बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

काभ्रेभन्ज्याङ-भकुन्डेबेँसी-सिन्धुली खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक सबै सवारीमा रोक लगाइएको हो ।

कार्तिक १३, २०८२

ज्योती श्रेष्ठ

Nighttime vehicle traffic banned on BP Highway

काभ्रे — बीपी राजमार्गमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । विपद् जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभन्ज्याङ-भकुन्डेबेँसी-सिन्धुली खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सबै सवारीमा रोक लगाइएको हो ।

वर्षात र बाढीपहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी आवागमनमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्ने प्रशासनको भनाइ छ । उक्त अवधिमा अत्यन्त जरूरी काम नभई बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको उनले बताए ।

पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ । बीपी र अरनिको राजमार्ग आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्ने उनले बताए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully