भारतीय ग्यास बुलेटको ठक्करवाट पतिको मृत्यु, पत्नी र छोरा घाइते  

बुलेटको ठक्करवाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् ।

कार्तिक १०, २०८२

प्रताप विष्ट

Husband dies, wife and son injured after being hit by Indian gas bullet

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार बालकसहित दुई जना घाइते भएका छन् ।

बुलेटको ठक्करवाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । घाइते हुनेमा स्कुटरमा सवार केदारकी २८ वर्षीया पत्नी सरस्वति श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ रहेका छन् ।

उनीहरुको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । सरस्वतीको अवस्था गम्भिर रहेको र छोरा प्रविनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ दम्पती र छोरा चितवनवाट हेटौंडातर्फ स्कुटरमा आउँदै थिए । मृतक श्रेष्ठको शव हेटौंडा अस्पतालमा राखिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी–७ लच्कामा चितवनवाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशा तर्फबाट आउँदै गरेको एन ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो ।

ग्यास बुलेट चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully