मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा

वारिपारिको भाग जडान पूरा हुँदै जाँदा बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको छ ।

कार्तिक ५, २०८२

रासस

Miteri Bridge reconstruction in final stages

रसुवा — नेपाल–चीन बीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलर ठड्याउने काम भइसकेको जनाइएको छ ।

उक्त स्थानमा रहेको पक्की मोटरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुलको पुनःनिर्माणमा सहयोग गरेको हो ।

वारिपारिको भाग जडान पूरा हुँदै जाँदा बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप  पिलर उठाउन थालिसकेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्रता हेर्दा कात्तिक १५ गतेसम्म मितेरी पुल सञ्चालनमा आउन सक्ने बताए । उनले यस सम्बन्धमा सीमाक्षेत्रका चिनियाँ समकक्षीले सञ्चालनको  आधिकारिक जानकारी नदिएको बताए ।

पुल पुनर्निर्माण सकिनासाथ मालसामान आयात हुने भएका कारण आयातित सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

रासस

Link copied successfully