तिहारका बेला चितवनमा लगातार दुई पाङ्ग्रे दुर्घटना, तीन दिनमा गयो चार जनाको ज्यान

स‍ोमबार राति दुई बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिक बा प्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर पल्टदा दुईजना युवाको ज्यान गएको थियो ।

कार्तिक ५, २०८२

रमेशकुमार पौडेल

Four people died in consecutive two-wheeler accidents in Chitwan during Tihar

चितवन — तिहारका बेला चितवनमा रातको समयमा लगातार जसो मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा तीन दिनमा चार जनाको ज्यान गएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति चितवनको पूर्वी भेग खैरहनीमा एकजना युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका-२ भित्रि सडकमा मध्यरातमा उक्त घटना भएको थियो ।

बागमती प्रदेश ०३-००५ प४३०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको भन्ने सूचनाका आधारमा प्रहरी उद्धारका लागि पुगेको थियो । दुर्घटनाका कारण गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल पठाएकोमा चिकित्सकले राति सवा एक बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । अन्दाजी २२/२३ वर्षका युवकको नाम थर ठेगाना नै खुलेको छैन ।

खैरहनी-२ कै राजमार्गमा रोकी राखेको ग्याँस बुलेटमा ठोक्किएर आइतबार राति मात्रै मोटरसाइकल चालकको ज्यान गएको थियो । त्यसैगरी स‍ोमबार राति दुई बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिक बा प्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर पल्टदा दुईजना युवाको ज्यान गएको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully