गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हाे ।
चितवन — साेमबार राति भरतपुरमा स्कुटर दुर्घटनामा परी २८ वर्ष र २५ वर्षका दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्टनजिक बा प्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टेको थियो ।
स्कुटर पल्टिँदा टाउकोमा लागेको चोटले चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि बसेेका भरतपुर-२१ कै २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा २ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको उनले बताए ।
चितवनमा आइतबार राति पनि माेटरसाइकल दु्र्घटनामा खैरहनीका एक युवकको ज्यान गएको थियो ।
