नुवाकोटको ककनीमा आगलागीबाट दुई घर जलेर नष्ट

आगलागीमा परी एक करोड रुपैयाँबराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

कार्तिक ४, २०८२

रासस

Two houses destroyed in fire in Kakani, Nuwakot

त्रिशूली — नुवाकोटको ककनी गाउँपालिका–१ स्थित जलकुनीमा मंगलबार आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । 

आगलागीमा परी एक करोड रुपैयाँबराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो ।

'विद्युत् गडबढका कारण आगलागी हुँदा नगद १० लाखसहित २५ लाख रुपैयाँबराबरको सुनचाँदीको गरगहना, १८ लाख रुपैयाँबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,' प्रनाउ लामाले भने, 'स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।'

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ । जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ । 

रासस

Link copied successfully