जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ५ सय मिटर पूर्वमा पर्ने उक्त घरमा तास खेलिरहेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।
हेटौंडा — मकवानपुर प्रहरीले हेटौंडाबाट तास खेलिरहेको अवस्थामा ६ जना महिलासहित ११ जना पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिकैको एक खाजा घरबाट शनिबार तास खेलिरहेको अवस्थामा ६ लाख ६ हजार ३ सय १० रुपैयाँसहित ११ जना पक्राउ गरेको हो ।
तास खेलेको स्थानबाट प्रहरीले ११ बूक तास बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ५ सय मिटर पूर्वमा पर्ने उक्त घरमा तास खेलिरहेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० कर्राकी ३५ वर्षीया बसन्ती ब्लोन, हेटौंडा उपमहानगरपालिका–१० की ५० वर्षीया राम माया राना, हेटौंडा उपमहानगरपालिका–४ की ५० वर्षीया हिरामाया थिङ, हेटौंडा–४ की ३० वर्षीया शान्तिमाया तामाङ, हेटौंडा–१० बसपार्क की ६६ वर्षिया कान्छी माया ब्लोन, हेटौंडा उपमहानगरपालिका–११ की ४५ वर्षीय सीता लामा पक्राउ परेकी छन् ।
यसैगरी खाजा घर सञ्चालक हेटौंडा उपमहानगरपालिका–१० कर्राका ३५ वर्षीय हिरालाल मोक्तान, हेटौंडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, हेटौंडा–१० न्युरेनीका ३८ वर्षीय टुमबहादुर वाइबा, मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
