यसै वर्ष करिब एक हजार नयाँ विद्यार्थी र १२ जना प्राध्यापक थपिने विश्वविद्यालयको दाबी ।
What you should know
काभ्रे — जिल्लास्थित धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू)मा विद्यार्थी र शिक्षकको आकर्षण बढ्दो रहेको पाइएको छ । यसै शैक्षिक सत्र (२०८२/८३) मा करिब एक हजार नयाँ विद्यार्थी र १२ जना विदेशी प्राध्यापक थपिने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।
गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी भर्ना भएका थिए भने यस वर्ष त्यो संख्या छ हजार नाघ्ने अपेक्षा गरिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक अच्युतप्रसाद वाग्लेले बताए । उनका अनुसार यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३ सयभन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् । यस्तै आर्ट्स, म्यानेजमेन्ट र एजुकेसनमा करिब ३ सय विद्यार्थी थपिने अपेक्षा गरिएको छ । मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषदको स्वीकृतिका आधारमा ४ सयभन्दा बढी अतिरिक्त सिट थपिने तयारी भएको उनले जानकारी दिए ।
विश्वविद्यालयमा विद्यार्थीको मात्र नभएर विदेशी प्राध्यापकको पनि आकर्षण बढेको छ । विदेशी प्राध्यापकको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको विश्वविद्यालयका उपकुलपति डा.वाग्लेले बताए । उनका अनुसार विश्वका ४ सय ५० भन्दा बढीबाट आवेदन आएपछि यस वर्ष १२ जना विदेशी प्राध्यापक नियुक्त भइसकेको उनले बताए । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको संख्या १० प्रतिशत बनाउने लक्ष्य राखेको वाग्लेले बताए ।
यस वर्ष विदेशी विद्यार्थी भर्नाको कोटासमेत पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । सोहीअनुसार यस वर्ष ४२ जना विदेशी विद्यार्थी एमबीबीएसमा भर्ना हुनेछन् । विगत तीन दशकमा विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेको विश्वविद्यालयले जनाएको छ । हालसम्म ५५ देशका करिब ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन् । साथै ४१ देशका २ सय ९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थासँग विश्वविद्यालयको सहकार्य रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिस्टार डा. राजीव श्रेष्ठका अनुसार केयूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक केन्द्रमा रूपान्तरण गर्ने अभियान अघि बढिरहेको छ ।
केयूले आफ्नै सूचना प्रविधि केन्द्र स्थापना गरी अनुसन्धान र डिजिटल स्थायित्वमा जोड दिएको छ । ‘केयू कनेक्ट’ मोबाइल एपमार्फत विद्यार्थीलाई शैक्षिक तथा प्रशासनिक सेवा डिजिटल रूपमा उपलब्ध गराइने उपकुलपति डा. वाग्लेको भनाइ छ । विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न प्रयासरत केयूले सातै प्रदेशमा छात्रवृत्ति कार्यक्रम विस्तार गरेको विश्वविद्यालयले जनाएको छ । जसअन्तर्गत प्रत्येक प्रदेशका उत्कृष्ट विद्यार्थीलाई सय प्रतिशत शुल्क छुट दिइने उपकुलपति डा.वाग्लेको भनाइ छ ।
यस्तै, केही समयदेखि कमजोर बनेको धुलिखेल अस्पतालसँगको सहकार्य पुनः सुदृढ बन्दै गएको उनले बताए । उनका अनुसार अहिलेको धुलिखेल अस्पताल व्यवस्थापनसँगकै सहकार्यमा अस्पताल सेवा विस्तार हुँदैछ । त्यसका लागि ४ सय ५० शय्याको अस्पताल भवन निर्माण हुँदैछ ।
