बसको ठक्करबाट स्कुटर चालकको निधन

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ मा पर्ने रामनगरमा दिउँसो पौने १ बजे दुर्घटना भएको थियो ।

आश्विन ३०, २०८२

रमेशकुमार पौडेल

Scooter driver dies after being hit by bus

चितवन — पर्यटक बसले ठक्कर दिँदा बिहीबार चितवन रामनगरमा स्कुटर चालकको मृत्यु भएको छ । निधन हुनेमा गोरखा छोप्राकका ४० वर्षीय दामोदर घिमिरे रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । 

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ मा पर्ने रामनगरमा दिउँसो पौने १ बजे दुर्घटना भएको थियो । नारायणगढबाट गइरहेको घिमिरे सवार ग २० प ८५५९ नम्बरको स्कुटरलाई नारायणगढतर्फ आइरहेको बा प्र ०१-००१ य १६८४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करका कारण गम्भीर घाइते भएका घिमिरेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो साढे १ बजेतिर निधन भएको डीएसपी खनालले बताए । 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully