जेन–जी आन्दोलन : काभ्रेका ५ शैक्षिक संस्थाका विद्यार्थीकाे उत्तरपुस्तिकामा क्षति

सुरक्षाका लागि प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका आगजनीमा जलेको र केही सिल तोडिएको अवस्थामा फेला परेको उपनियन्त्रक पोख्रेलले बताए ।

आश्विन ३०, २०८२

ज्योती श्रेष्ठ

Gen-G movement: Answer sheets of students from 5 educational institutions in Kavre damaged

What you should know

काभ्रे — पनौतीकी क्रिस्टिना कर्मचार्यले डिप्लिोमा तहमा इलेक्ट्रिकल इन्जिनियरिङको तेस्रो वर्षको दोस्रो खण्डको परीक्षा सकेर बसेकी थिइन् । भदौ १७ गते डिप्लोमा तहको परीक्षा सकेर नतिजा पर्खिरहेकी थिइन् ।

नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्रबाट विभिन्न मितिमा परीक्षा दिएका विद्यार्थीका उत्तरपुस्तिका इलाका प्रहरी कार्यालय बनेपामा राखिएको थियो । भदौ २४ गतेको प्रदर्शनका क्रममा इलाका प्रहरी बनेपामा आगजनी हुँदा नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्रबाट विभिन्न मितिमा परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका केही जलेको त केही सिल तोडिएको अवस्थामा फेला परे ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको सूचीमा त्रिस्टिनासहित २३ जना विद्यार्थीले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय परीक्षा केन्द्रमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङको तेस्रो वर्षको दोस्रो खण्ड नियमित तर्फको २०८२ भदौ १४ गते गतेको इडी विषयको २३ वटा पोका नष्ट भएको उल्लेख छ । 

सूचनामा आफूले दिएको विषय पनि रहेको थाहा भएपनि परीक्षा बारे केही जानकारी नपाएको उनले बताइन् । ‘धेरै मिहनेत गरेर पढेर परीक्षा दिएका थियौं, फेरि परीक्षा दिन पहिला जसरी सक्दैनौं, अहिले त ग्याप पनि भयो, पढेको कुरा धेरै बिर्सिसक्यौं, पहिलाको जस्तो मिहेनत भने गर्न सकिदैन कि जस्तो लाग्छ,’ उनले भनिन् ।

डिप्लोमा तहको परीक्षा सकेर स्नातक पढाईको तयारीमा थिए, रामेछापका सफल पौडेल । नतिजानै नआई पुनः परीक्षा दिनुपर्ला भन्ने उनले सोचेका पनि थिएनन् । आफूले दिइसकेको परीक्षाको उत्तरपुस्तिका जलेको खबर पाएपछि उनलाई पनि अन्यौलता भएको छ । ‘पुनः परीक्षा दिएर नतिजा आउन समय लाग्ला,’ उनले भने, ‘यसले गर्दा स्नातक अध्ययनका लागि एक वर्ष ढिला हुनुको साथै रोजगारीदेखि विविध कुरामा पनि असर पार्छ ।’

इलाका प्रहरी कार्यालय बनेपामा राखिएका उत्तरपुस्तिका आगजनी हुँदा काभ्रेका करिब १ सय ३० जना विद्यार्थी प्रभावित भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका उपनियन्त्रक उपेन्द्र पोख्रेलका अनुसार इलाका प्रहरी बनेपामा राखिएको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय परीक्षा केन्द्रबाट विभिन्न मितिमा परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिकामध्ये ९५ प्रतिशत सुरक्षित रहेका छन् । शिक्षालयमा काभ्रे हेल्थ शिक्षण संस्था, जागृति माध्यमिक विद्यालय, नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, सेतीदेवी माध्यमिक विद्यालय र टेक्निकल एण्ड भोकेशनल शिक्षण संस्था गरी ५ वटा शिक्षण संस्थाको परीक्षा केन्द्र रहेको थियो । 

परिषद्ले साउन २६ देखि भदौ २५ सम्मका लागि परीक्षाका सञ्चालन गरेको थियो । भदौ २३ पछिको परिस्थितीका कारण केही परीक्षा स्थगित पनि गरिएको थियो । सुरक्षाका लागि प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका आगजनीमा जलेको र केही सिल तोडिएको अवस्थामा फेला परेको उपनियन्त्रक पोख्रेलले बताए । उनका अनुसार आगजनी भएका र सिल तोडिएका विषयको परीक्षा पुनः हुने परिषद्ले निर्णय गरेको छ । ‘ती विषयको मंसिर ४ गतेबाट पुनः परीक्षा हुनेछ,’ उनले भने, ‘त्यसका लागि परिषद्ले तयारी गरिरहेको छ, केहीदिनमै परीक्षा तालिका सार्वजनिक गरिनेछ ।’

उनका अनुसार भदाै २४ काे  प्रदर्शनमा कोशी प्रदेशका ५ र  बागमतीका १८ केन्द्रका उत्तरपुस्तिकामा क्षति भएको जानकारी आएको छ । उत्तरपुस्तिका क्षति भएका विषयको पुनः परीक्षा आउँदो मंसिर ४ गते संचालन गरिने सूचना गरिएको उनले बताए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully