सहकारी मुद्दाका मिसिल जले, मुख्य अभियुक्त फरार

आगजनीका कारण अदालतका धेरैजसो अभिलेख र चालु मुद्दाका मिसिल र फाइल जलेर खरानी भएका छन् । भवन पनि क्षतिग्रस्त भएको छ ।

आश्विन ३०, २०८२

रमेशकुमार पौडेल

Cooperative case files burned, main accused absconding

What you should know

चितवन — जेन-जी आन्दोलनका बेला अदालत जलाउने र कारागारबाट कैदीबन्दी निस्कने गरेका कारण चितवनमा दर्ता भएका सहकारी ठगीसम्बन्धी ठूला मुद्दाका मिसिल नै जलेका छन् । कारागारबाट मुख्य अभियुक्त फरार भएका छन् ।

नारायणगढ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनराइज सहकारीको बचत रकम अपचलनका अभियुक्तहरु नगेन्द्रबहादुर रिमाल र कृष्णप्रसाद ज्ञवाली फरार भएका छन् । 

उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कावासोतीमा रहेको छिपछिपे सहकारीको ठगी प्रकरणका पनि मुख्य अभियुक्त हुन् । कारागार व्यवस्था विभागले असोज २८ मा सार्वजनिक गरेको विवरण अनुसार यी दुईजनासहित भरतपुर कारागारबाट सहकारी मुद्दाका संगिता चितौरे मगर पनि फरार भएकी छन् । सनराइज सहकारीका बचतकर्ताको ९० करोड रुपैयाँ ठगी भएको भनेर मुद्दा परेको छ । 

स्थायी ठेगना बर्दिया गुलरिया घर भएका नगेन्द्रबहादुर रिमाल सनराइज सहकारीका अध्यक्ष हुन् । बर्दियाकै कृष्णप्रसाद ज्ञवाली सहकारीको कोषाध्यक्ष हुन् । २०७१ सालदेखि यो समूहले बर्दियाबाट आएर नारायणगढमा सनराइज सहकारी चलाउन सुरु गरेको थियो । त्यसै गरी उनीहरुले नै २०७३ सालदेखि कावासोतीमा छिपछिपे सहकारी सञ्चालनमा ल्याएका थिए ।

बचत फिर्ता नगरी सहकारीका सञ्चालकहरु सम्पर्कविहीन भएपछि सनराइज सहकारी २०७९ को कात्तिकदेखि बन्द भएको थियो । यो मुद्दामा राप्रपाबाट सांसद बनेकी रिमालकी सासू गीता बस्नेत पनि अभियुक्त हुन् । उनी गत वर्ष मुद्दा दायर हुँदा फरार रहेकी थिइन् । गएको भदौमा अदालतमा हाजिर भएर २५ लाख धरौटीमा रिहा भएकी थिइन् । 

सनराइज सहकारीसहित चितवनमा रवि लामिछाने अभियुक्त रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारीको ठगी मुद्दा पनि विचाराधीन छ । यी मद्दाको मिसिल अदालतको फाँट नम्बर एकमा थियो । फाँट नम्बर १, २, ३ र ४ नम्बरका मिसिल प्राय: जलेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । चितवन जिल्ला अदालतमा भदौ २४ गते दिउँसो आगजनी भएको थियो ।

उक्त आगजनीका कारण अदालतका धेरैजसो अभिलेख र चालु मुद्दाका मिसिल र फाइल जलेर खरानी भएका छन् । भवन पनि क्षतिग्रस्त भएको छ । चितवन जिल्ला अदालतमा अझै नियमित सेवा सुरु हुन सकेको छैन । त्यसैगरी राजधानीलगायत देशका अन्य कारागारमा पनि तोडफोड, आगजनी र हुलहुज्जत गर्दै भदौ २४ मै कैदी र थुनुवा भाग्न सुरु भएको थियो ।

चितवन भरतपुर कारागारका कैदी र थुनुवा भदौ २५ गते बिहान सामूहिक रुपमा कारागारबाट निस्केका हुन् । भरतपुरमा ठूलो हुलहुज्जत या तोडफोड भएको थियो । प्रशासनले सोही दिन सूचना निकालेर कैदी र थुनुवालाई तत्काल फर्कन चेतावनी दिएको थियो । तर कारागार व्यवस्था विभागले निकालेको विवरणमा १३१ नेपाली र १२ भारतीय गरी भरतपुर कारागारका १४३ कैदी र थुनुवा फरार छन् । कारागारबाट निस्केका मध्ये ६ सय जना फर्केका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully