चिउरीको घ्यू उत्पादन गर्दै चेपाङहरु 

मकवानपुरको राक्सिराङ र कैलाश गाउपालिकामा पर्ने साविकको काकडा, खैराङ, राक्सिराङ, भार्तालगायत ५ गाविसका चेपाङहरु साउन/भदौमा बिया संकलन गरेर असोज र कात्तिकमा चिउरी पेलेर घ्यू उत्पादन गर्छन् ।

आश्विन ३०, २०८२

प्रताप विष्ट

Chepangs producing chiuri ghee

What you should know

हेटौंडा — मकवानपुर जिल्लाको पश्चिम क्षेत्रमा रहेका चेपाङहरु अहिले चिउरीको घ्यू उत्पादन गर्न व्यस्त छन् । चिउरीको घ्यू बेचेर उनीहरु तिहारलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्रीहरु खरिद गर्ने गर्छन् । तिहारमा चिउरीको घ्यू बिक्री गर्न पाउने भएकाले उनीहरुलाई खर्च टार्न त्यति समस्या पर्दैन, जति अरु चाडबाड मनाउन समस्या पर्छ ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउपालिकामा पर्ने साविकको काकडा, खैराङ, राक्सिराङ, भार्तालगायत ५ गाविसका चेपाङहरु साउन/भदौमा बिया संकलन गरेर असोज र कात्तिकमा चिउरी पेलेर घ्यू उत्पादन गर्छन् । परम्परागत ढंगले नै काठको चेपुवामा चिउरी पेलेर घ्यू निकाल्ने गर्छन् ।

केहीले दशैं खर्चका लागि पनि चिउरी पेलिसकेका छन् । अधिकांश चेपाङलाई चिउरी पेलेर घ्यू उत्पादन गर्न अहिले भ्याइनभ्याई छ । चेपाङ जातिसँग अभिन्न रुपमा जोडिएको चिउरीको बोट अधिकांश चेपाङहरुको खोरियामा लगाइएको हुन्छ । छोरीको विवाह भएको चौथो वर्षमा माइतीले विवाह पक्का भएको संकेतको रुपमा छोरीलाई चिउरीको बोट दिने प्रचलन छ । 

साविकको काकडा र भार्तामा गाविसमा वाक्लो रुपमा चिउरीका बोट छन् । जसले गर्दा सबैभन्दा बढी चिउरीको बियाँ त्यही नै संकलन हुन्छ । चिउरीको घ्यू बिक्री गरेर यहाँका चेपाङहरुले आफनो चाडबाडको आवश्यकता पूर्ति गर्छन् काकडास्थित दामराङका विशुमान  चेपाङले भने,‘चिउरीका घ्यू अहिले गाउँमा नै बिक्री हुन्छ ।’ 

Chepangs producing chiuri ghee

चेपुवाबाट पेलेर निकाल्दा तेल निस्के पनि पछि जमेर घ्यू बन्ने गर्छ काकडाका आइतराम चेपाङले भने, ‘एउटा चिउरीको बोटबाट पाँच केजीसम्म घ्यू उत्पादन हुने हुन्छ ।’ गाउँमै प्रति धार्नी ७ सय रुपैयाँमा चिउरीको घ्यू बिक्री गर्ने गर्छन् । जिल्लाकै विकट बस्ती दामराङ र धिराङमा अहिले पनि माना पाथी र धार्नीको प्रचलन छ ।

चेपाङहरुसँग चिउरीको घ्यू उत्पादन गर्ने अत्याधुनिक मेसिन छैन । उनीहरु घ्यू परम्परागत ढङ्गले उत्पादन गर्न बाध्य छन् । उनीहरुको जीवनशैलीसँग गासिएको चिउरीको घ्यू उत्पादन आधुनिक ढङ्गले गर्नका लागि अहिलेसम्म चेपाङहरुलाई कसैले आर्थिक एवं प्राविधिक सहयोग दिएका छैनन् ।

लामो सयमदेखि चेपाङ समुदायको विकास गर्न सरकारी एवं गैरसरकारी संस्थाले विभिन्न कार्य गरेको भए पनि उनीहरु अहिलेसम्म काठकै चेपुवामा चिउरीको बिँया पेलेर घ्यू उत्पादन गर्न बाध्य छन् । भुटेको चिउरीको बिँया काठे चेपुवामा पेलेर तातो तेल निस्कन्छ । त्यही तेल सेलाएपछि घ्यू बन्छ । स्वास्थ्यवर्धक र औषधिको रुपमा पनि प्रयोग गरिने भएकाले चिउरीको घ्यूको माग अहिले बढदै गएको छ ।

तर चिउरीको वोटको संरक्षण अभाव र आधुनिक तरिकाले उत्पादन गर्ने विधि नभएकाले चेपाङहरुले बजारको माग पूर्ति गर्न सकेका छैनन् । चिउरी उत्पादनका लागि जिल्लाको पश्चिमी क्षेत्र हावापानी र जमिनको बनोट उपयुक्त भए पनि चेतनाको अभावले गर्दा चेपाङ जातिले व्यवसायिक रुपमा विकास गर्न सकेका छैनन् । विगतमा भन्दा अहिले चिउरीको बोटबाट कम आम्दानी हुने गरेको छ ।

चिउरीको ठूलो रुख भए पनि फल कम लाग्ने गरेको छ । चमेरो मासिने बितिक्कै चिउरीको बोटमा फल कम लाग्न थालेको स्थानीयको भनाइ छ । ‘चिउरीको बोटमा फूल फुलेपछि चमेराका हुलका हुल आउँथे, अहिले चमेराहरु आउन पनि छोडे, फल पनि कम लाग्न थालेको छ,’ आइतराम चेपाङ बताउँछन् । 

चमेरोले परागसेचनको काम गर्ने भएकाले उनीहरु मासिएपछि चिउरीको उत्पादन पनि कम हुन थालेको विज्ञहरुको भनाइ छ । चेपाङहरुले विगतमा डालाका डाला चमेराहरु मारेर खाएकाले अहिले त्यस्को असर चिउरीको उत्पादनमा परेको उनीहरु बताउँछन् । वन्यजन्तुले पनि चिउरीको पाकेको समयमा रुखमा चढेर खाइदिने गर्छ । मुख्यगरी गोसेले रुखमा चढेर पाकेको चिउरी खाइदिने गर्छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully