दुवै मिर्गौला खराब भएपछि विगत ८ वर्षदेखि विभिन्न अस्पतालमा उपचार गराउँदा आफूसँगको पैसा सकिएपछि बेलमायाले देश, विदेशमा रहेका नेपालीमाझ सहयोगको याचना गरेकी हुन् ।
नुवाकोट — नुवाकोटको तादी गाउँपालिका-३ प्रभुडाँडाकी मिर्गौलापीडित बिरामी ३९ वर्षीया बेलमाया मोक्तान तामाङले आफ्नो उपचारमा सहयोग गर्न आग्रह गरेकी छन् ।
दुवै मिर्गौला खराब भएपछि विगत ८ वर्षदेखि विभिन्न अस्पतालमा उपचार गराउँदा आफूसँगको पैसा सकिएपछि उनले देश, विदेशमा रहेका नेपालीमाझ सहयोगको याचना गरेकी हुन् । बेलमाया वीर हस्पिटल, टिचिङ हस्पिटल हुँदै हाल बसुन्धारास्थित चिरायु हस्पिटलमा उपचाररत छिन् ।
झन्डै ११ वर्ष इराकमा श्रम गरेर फर्किएकी बेलमायाको त्यहाँ कमाएको सबै पैसा उपचारमै सिद्धिएपछि सहयोग उठाउन थालिएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले 'बेलमाया मोक्तान तामाङ बचाउ अभियान' मार्फत सहयोग संकलन भइरहेको अभियानका रमेश तामाङले जानकारी दिए । आइतबारसम्म १ लाख ६३ हजार ५१९ रुपैयाँ सहयोग प्राप्त भएको तामाङले बताए ।
सहयोग गर्न इच्छुक व्यक्तिले बेलमायाका भदा सञ्जीव तामाङलाई ९७६९३५७५८१ नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरे ।
