डिभिजन सडक कार्यालयले रातभर मर्मत गरेपछि बीपी राजमार्गमा यात्रुवाहक तथा निजी सवारी साधन समयमा नै गन्तव्य पुग्न थालेका छन्।
What you should know
सिन्धुली — बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको सिन्धुलीतर्फ तीन र काभ्रेतर्फका १३ स्थानमा डाइभर्सन सडक निर्माणपछि शनिबारदेखि निर्बाध रूपमा यातायात सञ्चालन भएको छ। रोशीको बाढीले कटान गरेको डाइभर्सन र खसेको पहिरो पन्छाएपछि पाँच दिनमै शुक्रबार अपराह्नदेखि यातायात सुचारु भएको थियो।
डिभिजन सडक कार्यालयका अनुसार शुक्रबार भर रात रोलरले सडक थिच्ने र फराकिलो बनाउने काम गरेपछि यातायात सञ्चालनमा सहज भएको हो। काठमाडौँबाट छुटेका यात्रुवाहक र निजी सवारीसाधन पहिलेझैँ समयमा आवतजावत भइरहेको छ।
विद्युतीय सवारी (ईभी) चालक दीपेन्द्र कार्कीका अनुसार एकाध ठाउँमा एकतर्फी सडक सञ्चालन भए पनि समयमा खासै फरक परेको छैन। बर्खे खोला, माम्ती, पिन्थली, नार्के र चौकी डाँडामा थप मर्मत भए अझ सहजता आउने उनको अनुभव छ।
‘पहिले पनि ६ घण्टामा सिन्धुली–काठमाडौँ आवतजावत हुन्थ्यो,’ उनले भने, ‘अहिले पनि त्यत्ति नै समय लाग्यो। अब बीपी राजमार्गबाटै सरर सवारी गुडेका छन्।’
असोज १८ र १९ गते रोशीखोलामा आएको बाढीले अस्थायी ट्र्याक सडक १६ ठाउँमा गरी ३ दशमलव ५ किलोमिटर (३,५०० मिटर) बगाएको थियो। गत वर्ष ८ करोड खर्चेर डाइभर्सन निर्माण गरी सडक खुलाउन झन्डै तीन साता लागेको थियो। अहिले करिब १ करोडमै डाइभर्सन खुलेको डिभिजन सडक कार्यालयले जनाएको छ।
गत वर्षको असोजमै आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडकमध्ये आधाजसो रोशीखोलाले बगाएको थियो। तीन खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का लागिसकेको छ।
बीपी राजमार्गका धुलिखेल, सिन्धुली र बर्दिबास खण्ड यसअघि नै सञ्चालनमा थिए। नेपालथोक–धुलिखेल खण्ड पनि सञ्चालनमा आएसँगै अब कतै बाधा छैन। ट्राफिक नियमको पालना गरेर यातायात सञ्चालन भए जाम समेत नपर्ने प्रहरीले जनाएको छ। मोटरसाइकल अगाडि जाने होडका कारण केही स्थानमा जाम परेकाले त्यस्तो नगर्न चालकलाई प्रहरीले सुझाएको छ।
