डोरीको सहारामा च्छो–रोल्पा आउजाउ

विदेशी र आन्तरिक पर्यटक रोल्वालिङ पदमार्गमा जोखिम मोलेर यात्रा ।

आश्विन २४, २०८२

केदार शिवाकोटी

Chho-Rolpa Aujau with the help of a rope

What you should know

दोलखा — मौसम खुलेसँगै रोल्वालिङ क्षेत्र पुग्ने विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। हिमाली क्षेत्रको पदयात्रामा निस्कने पर्यटक रोल्वालिङ क्षेत्रको च्छो–रोल्पा र दुधकुण्डतर्फ पुग्न थालेका छन्।

तर, असोज १६–१७ गते आएको बाढीले डोङनाङदेखि माथि ठाङदिङसम्मका अस्थायी साँघु र काठका पुल बगाउँदा पदमार्ग अवरुद्ध भएको छ। ठिङलुङ खोलाको बाढीले तीन वटा अस्थायी पुल बगाउँदा पर्यटकले खोलामा डोरीको सहारामा वारपार गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

अन्तर्राष्ट्रिय हिमाल पथ प्रदर्शक पासाङ किदर शेर्पाले भने, 'रोल्वालिङ क्षेत्रमा ९ जना विदेशी पर्यटकसहितको टोली लिएर गएका थियौँ। बाढीले पुल बगाएपछि जोखिम मोलेर यात्रा गर्नुपर्‍यो। फर्कँदा पनि खोलामा डोरीको सहारामा पार गर्दै सुरक्षित क्षेत्रतर्फ ल्याएका थियौँ।'

स्थानीय होटल व्यवसायी उत्तर कुमार ठकुरीले भने, 'यो वर्ष विदेशी पर्यटकको चाप अत्यधिक बढेको छ। दैनिक करिब १००–१५० पर्यटक रोल्वालिङ क्षेत्रमा पुगिरहेका छन्। तर, पदमार्गमा जोखिम रहेकाले केही पर्यटकले गुनासो गरेका छन्। स्थानीय सरकारले तत्काल अस्थायी व्यवस्थापन नगर्दा पर्यटनमा नकारात्मक असर पर्न सक्छ।'

गौरीशंकर गाउँपालिका–९ का अध्यक्ष विश्वास कार्कीले बाढीले बगाएका अस्थायी साँघु र काठका पुल तुरुन्त बनाउने तयारी भइरहेको जानकारी दिए। उनले भने, 'पर्यटकको सहजताका लागि वैकल्पिक उपाय अपनाइरहेका छौँ। एक–दुई दिनमै अस्थायी संरचना बनाएर यात्रा सुचारु गराइने छ। स्थायी पुल निर्माणका लागि प्रदेश सरकारसँग पनि अनुरोध गरिएको छ।'

रोल्वालिङ उपत्यका युवा पुस्ताको रोजाइमा परेको छ। अधिकांश आन्तरिक पर्यटक पदयात्राको अन्तिम गन्तव्य ४ हजार ५८० मिटर उचाइमा रहेको च्छो–रोल्पा पुग्ने गरेका छन् भने विदेशी पर्यटक रोल्वालिङ पदमार्ग हुँदै टासिलाप्चा पास भएर सोलुखुम्बुको पर्यटकीय गाउँ थामे हुँदै सगरमाथा जाने गरेका छन्।

यस वर्षको मौसममा औसत ३ सयभन्दा बढी विदेशी पर्यटकले रोल्वालिङ क्षेत्र भ्रमण गरिसकेका छन् र सिजन बाँकी रहँदा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ।

केदार

Link copied successfully