नेपालथोक-धुलिखेल खण्डको सिन्धुलीतर्फ ट्र्याक खोलियो

काभ्रेतर्फबाट ट्र्याक खोलेपछि शनिबार दिउँसोसम्ममा बीपी राजमार्गबाटै काठमाडौं आवतजावत हुने प्राविधिकहरुको आंकलन छ ।

आश्विन २३, २०८२

राजकुमार कार्की

The track was opened towards Sindhuli of Nepalthok-Dhulikhel section

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डको सिन्धुलीतर्फ ६०० मिटर ट्र्याक खोलिएसँगै नेपालथोकबाट बालुवासम्म यातायात सञ्चालनमा आएको छ ।

नेपालथोक–बर्खेखोलाको ट्र्याक निर्माणसँगै बिहीबारबाट सिन्धुलीतर्फ यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय खाल्टेले जनाएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर चार दिनअघिदेखि ट्र्याक खोल्न थालिएको थियो । 

डिभिजन सडक कार्यालयबाट एक्स्काभेटर लगेर रोशी खोलालाई डाइभर्ट गरी अस्थायी रुपमा ट्रयाक खोलिएको हो । यसका लागि रोशीलाई तर्काएर खोलाकै ढुङ्गा, गिटी, बालुवा प्रयोग गरिएको छ । डिभिजन सडक कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार यो ट्र्याक खुलेसँगै काभ्रेको माम्तीसम्म यातायात चल्नेछ ।

बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा छ । ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहे पनि ५० किलोमिटरमा पुननिर्माणको काम भइरहेको हमालले बताए । 

काभ्रेको चौकीडाँडाबाट समेत अस्थायी सडक निर्माण सुरु भएको छ । अब काभ्रेतर्फबाट ट्र्याक खोलेपछि शनिबार दिउँसोसम्ममा बीपी राजमार्गबाटै काठमाडौं आवतजावत हुने प्राविधिकहरुको आंकलन छ । नेपालथोकदेखि काभ्रेको माम्ती चार किलोमिटर छ । काभ्रेतर्फ भौतिक पूर्वाधार तथा निर्माणमन्त्री कुलमान घिसिङले निर्माण हुँदै गरेको ट्र्याकको निरिक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

राजकुमार कार्की कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully