बीपी राजमार्गबाट महाभारतसम्म जान तीनवटा सडक छन् । तर बाढीका कारण एउटा पनि सडक सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
What you should know
काभ्रे — वर्षापछि गत साता रोशीमा आएको बाढीका कारण पाँच दिनदेखि काभ्रेको महाभारत गाउँपालिका सडक सञ्जाल विच्छेद भएको छ । बाढीका कारण महाभारत गाउँपालिका जाने कुनै पनि सडक सञ्चालनमा आउन सकेका छैनन् ।
बीपी राजमार्गबाट महाभारतसम्म जान तीनवटा सडक छन् । तर बाढीका कारण एउटा पनि सडक सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार बीपी राजमार्ग सञ्चालन हुन नसकेका कारण गाउँपालिका जाने सडक मर्मतका लागि डोजर चलाउन डिजेलसमेत लैजान सकिएको छैन ।
बीपी राजमार्ग चल्नेबित्तिकै डिजेल लगेर सडक मर्मत सुरु हुने जिम्बाले बताए ।
महाभारत पुग्ने सबैभन्दा सजिलो चौकीडाँडा-सिपाली-महाभारत सडक जाने नमोबुद्ध-६ र रोशी-७ जोड्ने थानसिङबेंसीको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि रोशीमा ह्युमपाइप राखेर सडक सञ्जाल जोडिए पनि रोशीमा बहाव बढ्नेबित्तिकै ह्युमपाइप बगाउने गरेको छ ।
पुल बगाएको स्थानमा अर्को पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत वर्षदेखि नै पहल गर्दै आएको छ । तर अहिलेसम्म प्रक्रिया सुरु नहुँदा सामान्य वर्षामै गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद हुने गरेको छ ।
सडक सम्पर्क विच्छेद हुँदा गाउँपालिकावासीलाई सदरमुकाम धुलिखेललगायत सहरी क्षेत्रमा आउन दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । 'पुल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकार तथा विपद् व्यवस्थापन प्राधिकरणलाई पटकपटक भन्यौं, योजनामा छ तर बजेट राख्ने बेला बेवास्ता गरिएको छ,' अध्यक्ष जिम्बा भन्छन्, 'यसकारण गाउँपालिकावासीले वर्षैभर दु:ख पाइरहनुभएको छ ।'
गाउँपालिका अध्यक्ष जिम्बाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेरै पुल निर्माणका लागि बजेट व्यवस्थापनका लागि अनुरोध गरेका थिए । मन्त्री घिसिङले तत्कालका लागि बेलीब्रिज राख्ने र पक्की पुल निर्माणका लागि पनि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अहिलेलाई रोशीको बहाव कम हुनेबित्तिकै थानसिङबेंसीमा फेरि ह्युमपाइप हालेर सडक सञ्चालन गर्ने तथा बीपी राजमार्ग चल्ने बित्तिकै नार्के हुँदै गाउँपालिका पुग्ने जनमुक्ति मार्गमा पनि सडक मर्मत थालिने अध्यक्ष जिम्बाको भनाइ ।
