उच्चस्तरीय छानबिन आयोगले सत्यतथ्य उजागर गरी आपराधिक कार्यमा संलग्न दोषी पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै एमाले भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
भक्तपुर — भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न एमाले भक्तपुरले माग गरेको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन आयोगले सत्यतथ्य उजागर गरी आपराधिक कार्यमा संलग्न दोषी पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै एमाले भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत एमाले तथा अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरूविरूद्ध केही उच्छृंखल तत्वहरूले कानुन हातमा लिई छानबिन आयोगलाई प्रभाव पार्ने मनसायले जाहेरी दर्ता गर्ने, पक्राउ पुर्जी जारी, पक्राउ गर्ने तयारीजस्ता प्रचारबाजी भएको भन्दै प्रमुख जिल्ला अधिकारी नमराज घिमिरमार्फत ध्यानाकर्षण गराइएको छ ।
जेन-जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी देशमा निम्तिएको समस्या तथा चुनौतीको समाधान संविधान र कानुनसम्मत लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रहरीले निश्चित स्वार्थ समूहको लहड र सनकका भरमा व्यक्तिलक्षित आग्रह र पूर्वाग्रहको आधारमा जाहेरी लिने, पक्राउ गर्नेलगायतका कुनै कार्य अगाडि बढाएमा त्यसको सशक्त प्रतिकारमा उत्रिन बाध्य हुने समेत ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझाउन एमाले जिल्ला अध्यक्ष वचन देउजा नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
