भदौ २५ गते कारागारबाट निस्किएका ७४३ मध्ये ५८५ जना मात्रै फिर्ता भएका छन् भने १५६ जना कैदी, थुनुवा र दुई बालबालिका अझै सम्पर्कमा आएका छैनन् ।
What you should know
चितवन — जेन-जी प्रदर्शनका बेलामा चितवनको भरतपुर कारागार शाखाबाट निस्केका मध्ये १५६ जना अझै फर्केका छैनन् । कारागारबाट भागेका कैदी तथा थुनुवाहरूलाई सरकारले असोज २० गतेसम्म फर्कने समय दिएको थियो । यो अवधिभित्र कारागारको सम्पर्कमा आउनेलाई थप कारबाही नहुने सुविधा सरकारले दिएको थियो ।
भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाका अनुसार भरतपुर कारागारमा पुरुष ४९१ जना कैदी र २०३ जना थुनुवा रहेका थिए । त्यसैगरी महिला ४० जना कैदी र ६ जना थुनुवा थिए । मुद्दा फैसला भएर कैद सजाय पाइसकेकाहरूलाई कैदी भनिन्छ भने मुद्दा फैसला हुन बाँकी रहेकालाई पुर्पक्षका लागि कारागारमा राखिएकोले थुनुवा भनिन्छ ।
महिला–पुरुष कैदी, थुनुवा र उनीहरूमा आश्रित बालबालिका गरी भरतपुर कारागारमा रहेका सबै ७४३ जना भदौ २५ गते बिहान कारागारबाट बाहिरिएका थिए । यीमध्ये ५३८ पुरुष र ३७ महिला गरी ५७५ कैदी तथा थुनुवा भरतपुर कारागारमा फर्किएका छन् । उनीहरूमा आश्रित दुई जना बालबालिका पनि भरतपुर कारागारमा आएका छन् । त्यसैगरी भरतपुर कारागारबाट बाहिरिएका ६ जना पुरुष र दुई जना महिला कैदी तथा थुनुवा अन्य कारागारमा रहेका छन् ।
'भदौ २५ गते बिहान चार जना आश्रित बालबालिकासहित कुल ७४३ जना भरतपुर कारागारबाट निस्केका थिए । हालसम्म दुई जना आश्रित बालबालिकासहित ५८५ जना फर्किएका छन् । १५६ जना कैदी तथा थुनुवा र थप तीनमा आश्रित दुई जना बालबालिका अझै फर्किएका छैनन्,' कारागारका सूचना अधिकारी ढुंगानाले भने ।
कुन अपराध र अभियोगका के कति फर्के, के कति आएनन् भन्ने विवरण तयार गर्ने काम भइरहेको उनले बताए ।
भरतपुर कारागारमा वन्यजन्तु अपराधसँग जोडिएका कैदी र थुनुवा पनि धेरै नै रहने गर्दछन् । कारागार प्रशासनका अनुसार दुर्लभ वन्यजन्तु गैँडा मारेर त्यसको अंगको ओसार–पसार तथा कारोबार गरेकामा भरतपुर कारागारमा ४६ जना व्यक्ति रहेका थिए । जसमध्ये दुई जना थुनुवा थिए । दुवै जना थुनुवा र २९ जना कैदी भरतपुर कारागारको सम्पर्कमा आएका छन् । एक जना कैदी तनहुँमा समातिएका थिए । गैँडा मुद्दाका १४ जना कैदी सम्पर्कमा नआएको जानकारी भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले दिए ।
