नेपालथोकदेखि बर्खेखोलासम्म सिन्धुलीतर्फ करिब ६ सय मिटर रोशीखोलाले बगाएको छ ।
सिन्धुली — बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिक रोशी खोलाले खसालेको सडकमा सोमबारदेखि ट्र्याक खोल्न थालिएको छ ।
रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर ट्र्याक बनाउन थालिएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म सिन्धुलीतर्फ करिब ६ सय मिटर रोशीखोलाले बगाएको छ ।
डिभिजन सडक कार्यालयबाट एक्स्काभेटर लगेर रोशी खोला डाइभर्ट गरी अस्थायी रुपमा ट्र्याक खोल्ने काम सुरु भएको हो । अस्थायी सडक निर्माणका लागि रोशीलाई तर्काएर खोलाकै ढुङ्गा, गिटी, बालुवा प्रयोग गरिने भएको छ ।
डिभिजन सडक कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको माम्तीसम्म यातायात सञ्चालन हुन्छ । बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा रहेको छ । ११० किलोमिटर सडकमा यातायात सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको हमालले बताए ।
