धुलिखेल अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ
काभ्रे — अरनिको राजमार्गअन्तर्गत पाँचखाल-दोलालघाट सडकखण्डको चाखोलामा ढुंगासहितको पहिरो खसेर लाग्दा मोटरसाइकलमा दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान ११:३० बजे काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर-१० स्थित चाखोलामा ढुंगासहितको पहिरो खसेर लाग्दा पाँचखालबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७५ प ५०९५ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर-५ का मोटरसाइकल चालक ४१ वर्षीय प्रेमबहादुर श्रेष्ठ र उनकी १० वर्षीया छोरी अपेक्षा श्रेष्ठ रहेका छन् ।
धुलिखेल अस्पतालमा उनीहरूको उपचार भइरहेको र अवस्था मध्यम रहेको धाँजुले जानकारी दिए । उनका अनुसार पहिरो सामान्य भएकाले राजमार्गमा यातायात सञ्चालनमा भने अवरोध सिर्जना भएको छैन ।
