कोशी र मधेसका सवारीसाधन पुष्पलालमार्ग हुँदै राजधानी जाँदै

बीपी राजमार्ग अवरुद्ध भएपछि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप लगायतबाट छुटेका सवारी पुष्पलाल मार्ग हुँदै राजधानी पुगेका छन् ।

आश्विन २०, २०८२

केदार शिवाकोटी

Vehicles from Koshi and Madhes are going to the capital through Pushpalalmarg

What you should know

दोलखा — बीपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएपछि वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग प्रयोग गरेर सोमबार दिउँसो २ बजेसम्म १ हजार १ सय साना–ठूला सवारीसाधन राजधानी गएका छन् ।

ती सवारीसाधनमार्फत हालसम्म १४ हजारभन्दा बढी यात्रु काठमाडौँ पुगेको प्रहरीले जनाएको छ ।

सोमबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चाप बढेपछि सवारी आवागमन सहज बनाउन जिल्ला ट्राफिक प्रहरी र अन्य प्रहरी टोली खटाइएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

बीपी राजमार्ग अवरुद्ध भएपछि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, रामेछाप लगायतका स्थानबाट छुटेका साना तथा ठूला सवारीसाधन पुष्पलालमार्ग हुँदै मन्थली–चरिकोट मार्ग पार गरेर अरनिको राजमार्ग प्रयोग गरी राजधानी गइरहेका छन् ।

सार्वजनिक सवारीसाधनले बढी भाडा लिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख महतोले राजमार्गमा छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा बढी भाडा लिएका १३ वटा सवारीसाधनलाई कारबाही गरिएको र ती सवारीका २७ यात्रुलाई अतिरिक्त भाडा फिर्ता गराइएको महतोले जानकारी दिए ।

‘विपद्‌का समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्ने सार्वजनिक सवारीसाधनले बढी भाडा लिने हो भने कानुनी कारबाही गरिन्छ,’ महतोले भने, ‘अत्यधिक सवारी चापका कारण ठाउँ–ठाउँमा प्रहरी परिचालन र सहायता कक्ष सञ्चालन गरिएको छ ।’

त्यस्तै, सगरमाथा क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक पनि यही मार्ग भएर फर्किन थालेका छन् । कोशी र मधेस प्रदेशबाट छुटेका अधिकांश साना–ठूला सवारीसाधन बर्दिबास–सिन्धुली–खुर्कोट–मन्थली–चरिकोट हुँदै राजधानीतर्फ गइरहेका छन् । अत्यधिक सवारी चापका कारण सवारीसाधनलाई ठाउँ–ठाउँमा विश्राम गरेर जान आग्रह गरिएको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully