सार्वजनिक सवारीसाधनले बढी भाडा लिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख महतो राजमार्गमा छड्के अनुगमनमा निस्किएका छन् ।
दोलखा — बिपी राजमार्गको वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल मार्गमा सोमबार बिहानैदेखि सवारी चाप बढेको छ ।
सवारी चाप बढेपछि राजमार्गमा सवारीसाधन र यात्रुको सहजताका लागि ट्राफिक प्रहरी र अन्य प्रहरी खटिएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
बिपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध बनेपछि सोलेखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, रामेछाप लगायतबाट छुटेका साना तथा ठूला सवारीसाधनले पुषपलाल मार्ग हुँदै मन्थली चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गरेर राजधानी गइरहेका छन् ।
सार्वजनिक सवारीसाधनले बढी भाडा लिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख महतो राजमार्गमा छड्के अनुगमनमा निस्किएका छन् । विपद्का समयमा वैकल्पिक राजमार्ग प्रयोग गरेका सार्वजनिक यातायातले बढी भाडा लिए सवारीसाधनलाई कारबाही गरिने उनले बताए ।
राजमार्गमा अत्याधिक चाप बढेकाले ठाउँ–ठाउँमा प्रहरी परिचालन र सहायता कक्ष सञ्चालन गरिएको छ । सोमबार बिहान १० बजेसम्म करिब ४ सय सवारीसाधनले यो राजमार्ग प्रयोग गरी राजधानीतर्फ गएको उनले बताए ।
