भदौ २४ गतेको प्रदर्शन र त्यसपछिका घटनामा विभिन्न कारागारबाट भागेकामध्ये धादिङमा हालसम्म १ सय ३७ जना पक्राउ परेका छन् ।
धादिङ — भदौ २४ गतेको प्रदर्शन र त्यसपछिका घटनामा देशभरका विभिन्न कारागारबाट भागेका तीन जना कैदीबन्दीलाई धादिङ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई प्रहरीको सम्पर्कमा आउन सरकारले सूचना जारी गरेको थियो भने पक्राउ गर्नका लागि प्रहरी परिचालन गरेको थियो सोही क्रममा धादिङ प्रहरीले सोमबार एकै दिन धादिङमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भदौ २६ गते दार्चुला कारागारबाट भागेका ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ का केशव थापा, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्ने क्रममा भदौ २६ गते भिमफेदी कारागारबाट भागेका धादिङकै गल्छी गाउँपालिका –५ का राजकुमार तामाङ र खैरो हेरोइन मुद्दामा कैद भुक्तान गर्ने क्रममा भदौ २४ गते सिन्धुली कारागारबाट भागेका धादिङ जिल्ला धुनीवेसी नगरपालिका–८ का विश्व मिजार रहेका छन् । विशेष सूचनाका आधारमा थापालाई सल्यान्टार प्रहरी चौकीले,तामाङलाई वैरेनी प्रहरी चौकी र मिजारलाई खानीखोला प्रहरी चौकीबाट गएका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख (एसपी)भेषराज रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरुमध्ये सिन्धुली कारागारबाट भागेका मिजारलाई केन्द्रीय कारागार काठमाडौं पठाइएको छ भने अन्य दुई जनालाई धादिङ कारागारमा नै राखिएको एसपी रिजालले बताए।
भदौ २४ गतेको प्रदर्शन र त्यसपछिका घटनामा विभिन्न कारागारबाट भागेकामध्ये धादिङमा हालसम्म १ सय ३७ जना पक्राउ परेका छन् ।
