हेटौंडा र चरिकोट भएर आवतजावत गर्न सिन्धुली प्रशासनको अपील

बीपी राजमार्गको नेपालथोक–चौकीडाँडा सडकमा अस्थायी ट्र्याक खोल्न केही दिन लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सुझाएको हो ।

आश्विन २०, २०८२

राजकुमार कार्की

Sindhuli administration's appeal to travel through Hetaunda and Charikot

सिन्धुली — बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्डको नेपालथोक–चौकीडाँडा २२ किलोमिटर सडक रोशीखोलाको बाढी र पहिरोले क्षतविक्षत भएपछि काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न सिन्धुली प्रशासनले आग्रह गरेको छ ।

सिन्धुलीमाडी भएर मदन भण्डारी राजमार्ग हुँदै हेटौंडा भएर काठमाडौं तथा सिन्धुलीमाडीबाट खुर्कोट भएर सुनकोसी नदी पार गर्दै रामेछापको मन्थली, दोलखाको चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गर्न सकिने सिन्धुली प्रशासनले जनाएको छ ।

बीपी राजमार्गको नेपालथोक–चौकीडाँडा सडकमा अस्थायी ट्र्याक खोल्न केही दिन लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सुझाएको हो । बर्दिवास–सिन्धुली–नेपालथोकसम्मको ११० किलोमिटर सडक यातायात सुचारु छ । 

सिन्धुलीमाडीबाट हेटौंडा १२० किलोमिटर मात्र छ । यात्रु तथा सवारी चालकले ट्राफिक प्रहरीसँग सोधपुछ गरेर यात्रा गर्न सिन्धुलीका प्रमुखजिल्ला अधिकारी दिनेशसागर भुसालले आग्रह गरेका छन् । 

रोशीको बाढी र पहिरोले क्षतविक्षत भइ ध्वस्त भएको सडकको निरीक्षण गरि अस्थायी सडक निर्माणको थालनी गर्न प्राविधिकहरुसँग छलफल सुरु भएको प्रजिअ भुसालले जानकारी  दिए ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully