वर्षाका कारण पहिरो खस्ने जोखिम बढेपछि हेटौंडाबाट काठमाडौँ जाने सबै सडकमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
हेटौंडा — हेटौंडाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने सडक मार्गमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै हेटौंडा–भैँसे, भीमफेदी–कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली र त्रिभुवन राजपथमा सोमबार बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
उक्त समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । अर्को सूचना जारी नभएसम्म हेटौंडाबाट काठमाडौँ जाने सबै सडक मार्गमा राति सवारीसाधन आवागमनमा रोक कायम रहने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
वर्षाका कारण ती सडकमा कुनै पनि बेला पहिरो खस्ने जोखिम रहेकाले राति सवारीसाधन आवागमनमा रोक लगाइएको उनले बताइन् ।
हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने चार वटा सडक मार्गमध्ये तीन वटा सडक मार्ग सोमबार बिहानदेखि सञ्चालनमा आएका छन् । कान्तिलोकपथ भने अझै सञ्चालनमा आउन सकेको छैन । कान्तिलोकपथका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।
