घट्टेपाखामा तीन ठूला पहिरो हटाउन तीन डोजर प्रयोगमा ल्याइएको छ भने ठिंगनदेखि बगुवासम्मको सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ।
हेटौंडा — तीन दिनदेखि पहिरोका कारण अवरुद्ध रहेको कान्ति लोकपथ सञ्चालनमा ल्याउन तीव्र गतिमा पहिरो पन्छाउने काम भइरहेको छ ।
कान्ति लोकपथ अन्तर्गत पर्ने बकैया गाउँपालिका–११, घट्टेपाखामा तीन वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ठिंगनदेखि बगुवासम्मको सडकमा खसेका तीन वटा ठूला पहिरो पन्छाइसकेपछि कान्ति लोकपथ पनि सञ्चालनमा आउने छ ।
कान्ति लोकपथ सञ्चालनमा आएपछि हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने चार वटा सडक मार्ग पूर्ण रूपमा सञ्चालनमा आउने छन् । यसअघि तीन वटा सडक मार्ग पहिल्यै सञ्चालनमा आएका थिए । कान्ति लोकपथ शनिवार बिहानदेखि बन्द भएको थियो ।
