दसैं मनाउन घर गएका सन्काहा स्वभावका उनले खुँडा प्रहार गरी ५५ वर्षीया आमाको हत्या गरेका छन् ।
What you should know
धादिङ — काठमाडौंमा भएको जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीका अगाडि उभिएर आफूमा कुनै डर नभएको र देशको चिन्ताले निद्रा समेत नपरेको बताउँदै थिए, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ थापा कटेरीका ३० वर्षीय जिरे भनिने यमबहादुर कँडेल ।
देश आफ्नो आमा भएको बताउँदै उनले सुरक्षाकर्मीलाई 'आफ्नो आमाका बारेमा सोच्नुस्' भन्दै अर्ती दिएर सम्झाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो । उनै कँडेलले आइतबार राति खुँडा प्रहार गरी आफ्नी ५५ वर्षीया आमा राममायाको हत्या गरेका छन् ।
असोज १२ गते काठमाडौंबाट दसैं मनाउन घर आएका कँडेलले गएराति (आइतबार) करिब साढे ८ बजेतिर घरैमा रहेको खुँडा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालले बताए ।
अभियुक्त कँडेलका सानीआमाका छोरा शंकर अधिकारीका अनुसार पहिलेदेखि नै झगडालु स्वभावका उनले आइतबार पनि बुबाआमासँग सामान्य विषयमा विवाद गरिरहेका थिए ।दिउँसोदेखि नै विभिन्न बहानामा रिसाउने र झगडा गर्ने गरिरहेकाले आमा राममायाले छोरालाई 'उपचार गर्न जा' भन्दै कपडा ठिक पार्दिएपछि थप रिसाएका उनले आँगनमा रहेकी आमालाई खुँडाले प्रहार गरे ।
अधिकारीका अनुसार आमाको गर्धनमा तीनपटकसम्म प्रहार गरेर हत्या गरेपछि बाबुलाई पनि मार्ने धम्की दिएका थिए । 'उसले बुबालाई आफूले भनेको सबै मान्ने कबुलियत गराएका थिए । त्यसपछि आमालाई मारेको कुरा पनि ठिक हो भन्न लगाएर मात्रै छाडेको रहेछ,' उनले भने । घटना थाहा पाएर आएका छिमेकीहरुलाई पनि उसले लगातार तर्साएको अधिकारीले बताए ।
नजिकै रहेको चौकीदेखि सल्यानटार र जिल्ला प्रहरी कार्यालय धादिङबाट गएको प्रहरीले उनलाई राति अबेर घरभित्रबाटै नियन्त्रणमा लिएका थिए ।
अस्थिर स्वभावका थिए जिरे
दुई दाइ र २ दिदीपछिका कान्छा सन्तान जिरेका जेठा दाजु ताइवान र माइला दाजु पोर्चुगलमा छन् । दुवै दाजुका परिवार काठमाडौंमा बस्दै आएका छन् । उनीहरूको पुर्खौली सम्पत्ति अंशवण्डा भइसकेको छ ।
दुई दाजुहरुको पारिवारिक अवस्था राम्रो भएका कारण समान अंशबण्डामा जिरेले कहिलेकाहीँ असन्तुष्टिसमेत जनाउने गरेको एक आफन्तले बताए ।
उनी ४/५ वर्षअघि मलेसिया गएर केही समय काम गरी फर्किएका थिए । स्वदेशमा नै काम गर्ने चाहना राखेपछि काठमाडौंको नयाँबजारमा रेस्टुरेन्ट चलाउन दाइहरुले आर्थिक सहयोग गरे पनि उनले लामो समय चलाउन सकेनन् । पछि उनले टिपर किनेर धादिङमा ढुंगागिटीको म थालेका थिए । त्यसमा पनि असफल भएका जिरेले टिपर बेचे र ट्रेकिङ व्यवसायमा लागे । त्यसलाई पनि निरन्तरता दिन सकेनन् । पछिल्लो केही समयदेखि भने उनले काठमाडौंमा पठाओ चलाउँदै आएका थिए ।
आमाको हत्यापश्चात् पनि बुवालाई उनले 'अब जेठो दाजुलाई मार्छु' भनेको एक छिमेकीले दाबी गरे । 'दाजुहरुको प्रगति देखेर आफू असफल हुँदाको रिस घरमा पोखेको हो कि भन्ने लाग्छ,' ती छिमेकीले भने, 'सन्काहा स्वभावको हो, बिरामी भएर औषधि सेवन गरेको भने जानकारी छैन ।'
दसैं मनाउन अघिल्लो आइतबार धादिङ आएका जिरे काठमाडौंमा एक्लै कोठा भाडामा लिएर बस्दै आएका थिए । अहिले उनको आमाको शव पोस्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
