पुष्पलाल मार्गबाट दुई दिनमा ३३ हजार यात्री काठमाडौं गए

सोमबार मात्रै पुष्पलाल मार्गबाट मात्रै १९ हजारभन्दा बढीले दसैं मनाएर काठमाडौं फर्किएको प्रहरीले जनाएको छ ।

आश्विन २०, २०८२

केदार शिवाकोटी

In two days, 33 thousand passengers went to Kathmandu via Pushpalal Marg

What you should know

दोलखा — मधेश र कोशी प्रदेशलाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक पुष्पलालमार्ग प्रयोग गरेर सोमबार १ हजार ८ सय सवारी साधन काठमाडौं गएका छन् । रामेछाप, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट दसैं मानेर कर्मथलो फर्कनेहरुले बीपी राजमार्ग अवरुद्ध बनेपछि पुष्पलाल मार्ग प्रयोग गरेका हुन् ।

सोमबार मात्रै पुष्पलाल मार्गबाट मात्रै १९ हजारभन्दा बढी दसैं मनाएर काठमाडौं फर्किएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । शनिबार दिउँसोबाट बीपी राजमार्गको विकल्पमा सवारी साधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रीलाई काठमाडौं लैजान थालेका हुन् । तीन दिनमा पुष्पलाल मार्गबाट ३३ हजारभन्दा बढी यात्रीले यात्रा गरेको उनले बताए ।

‘बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने भनेपछि वैकल्पिक रुपमा प्रयोगमा आएको पुष्पलाल मार्ग सवारी चाप अत्याधिक रहेको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार सवारी चाप बढेका छ, सवारीसाधन र यात्रीको सुरक्षाका लागि प्रहरी परिचालन गरेका छौं, नाका पूर्वतर्फबाट र तराईबाट आएका यात्री र सवारीसाधनलाई सहज बनाउन किर्नेटारमा सहायता कक्ष सञ्चालन गरेका छौं ।’

सावारीसाधनको चाप र जोखिम हेरेर सोमबार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक सवारी साधनलाई किर्नेटारमा होल्ड गराइएको उनले बताए । त्यहाँ होल्ड भएका सवारीसाधनलाई किर्नेटार देविटारमा बासको प्रबन्ध मिलाइने उनले बताए । अत्यावश्यक एम्बुलेन्स लगायतका सवारीसाधन चलाउन भने रोक नलगाइएको उनले बताए । ‘रातको समयम भएकाले जोखिम यात्रा नगर्न आग्रह गरेर राति राजमार्ग बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘खासगरी राजधानी यात्रु पुर्‍याएर फर्किएका सवारीसाधनका चालक थाक्ने भएकोले विश्रामका लागि होल्ड गरिएको हो ।’ 

केदार शिवाकोटी

Link copied successfully