पहिरो पन्छाएपछि पृथ्वी राजमार्गको धादिङ खण्ड पूर्ण सञ्चालनमा

संघीय राजधानी काठमाडौंको लाइफ लाइनको रूपमा रहेको पृथ्वीराजमार्गमा शनिबार काठमाडौ प्रवेशका लागि आएका र बाहिरिएका सवारीसाधनलाई ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाउँदै गन्तव्यमा पठाइएको थियो ।

आश्विन १९, २०८२

पोषनाथ अधिकारी

The Dhading section of Prithvi Highway is fully operational after the landslide has cleared

What you should know

धादिङ — अविरल वर्षासँगै शुक्रबारदेखि निरन्तर अवरुद्ध रहेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्ड बिहान साढे ११ बजे बाट पूर्ण सञ्चालनमा आएको छ । 

लगातार वर्षा र ठाउँ ठाउँमा झरेको पहिरोले आइतबार बिहानसम्म धादिङ खण्ड अस्त व्यस्त बनेको थियो । संघीय राजधानी काठमाडौंको लाइफ लाइनको रूपमा रहेको पृथ्वीराजमार्गमा शनिबार काठमाडौ प्रवेशका लागि आएका र बाहिरिएका सवारीसाधनलाई ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाउँदै गन्तव्यमा पठाइएको थियो । 

शनिबार प्रहरीले राजमार्गमा यात्रा नगर्न आग्रह गरिए पनि पहिल्यै धादिङ खण्डमा प्रवेश गरिसकेका सवारीलाई भने प्रहरीले पहिरो पन्छाउँदै गन्तव्यमा पुर्‍याएका थिए । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी प्रमुख भेषराज रिजाल, भैरव गणका गणपति असीम श्रेष्ठ, सशस्त्र  प्रहरीबल आस्रित गुल्म धादिङ र राजमार्ग सुरक्षा बलका प्रमुख लगायत नै शनिबार दिनभर खटिएका थिए । 

काठमाडौं प्रवेशका लागि आएका करिब ७ सय सवारी साधनलाई पहिरो पन्छाएर सुरक्षाकर्मीको उक्त उद्धार टोलीले सुरक्षित पुर्‍याएका थिए । यस्तै शनिबार रातिदेखि धादिङमा वर्षा रोकिए पनि आइतबार बिहान बेनिघाट रोराङको ज्यामिरे घाटमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि बिहान जिल्ला प्रवेश गरेका सवरी पुन: ज्यामिरेघाट खण्डमा रोकिए ।

लगातारको प्रयासपछि बिहान झण्डै १२ बजे पहिरो पन्छाएपछि यतिबेला पृथ्वी राजमार्गको धादिङ खण्डमा पूर्णरुपमा सवारी सञ्चालन भएको छ । बिहानदेखि एकातर्फी भएको र अन्य ४ स्थानमा पनि पहिरो पन्छाएसँगै अहिले नागढुंगादेखि मौवाखोलासम्मको सडकमा निर्वाध रुपमा सवारी सञ्चालन हुन थालेका छन् । 

काठमाडौंले केही समय अघिसम्म बाहिरिने सवारी नछोडेको भए पनि चितवन र तनहुँपट्टीबाट काठमाडौंतर्फ आएका सवारीसाधनलाई धादिङ प्रहरीले सहज रुपमा काठमाडौं पठाउन सहजीकरण गरिरहेको छ । बाहिर जिल्लाबाट काठमाडौं भित्रने सवारी चाप धेरै हुने हुनाले एकै पटक चाप नहोस् भनेर अझै केही समय सार्वजनिक जिल्लामा सवारीसाधन नचलाइएको धादिङका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

पोषनाथ अधिकारी

Link copied successfully