चितवनमा राति ९ बजेपछि राजमार्गमा गाडी चलाउन नपाइने 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले वर्षाको सम्भावना र जोखिम सोमबारसम्मै रहेकाले आइतबार पनि रातमा गाडी चलाउन रोक लगाउने निर्णय भएको बताए ।

आश्विन १९, २०८२

रमेशकुमार पौडेल

In Chitwan, vehicles are not allowed to drive on the highway after 9 pm

चितवन — अविरल वर्षा थामिनुका साथै राजमार्ग क्षेत्रको पहिरो हटाइए पनि चितवनमा राति ९ बजेपछि राजमार्गमा गाडी चलाउन नपाइने भएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले वर्षाको सम्भावना र जोखिम सोमबारसम्मै रहेकाले आइतबार पनि रातमा गाडी चलाउन रोक लगाउने निर्णय भएको बताए । आइतबार राति नौ बजेभित्रै चितवनमा सबै गाडी आउजाउ भइसक्नुपर्ने उनको भनाइ छ । यो समयपछि चितवन आउने र बाहिरिन बाँकी रहेका गाडीहरूलाई पहिरोग्रस्त क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा रहेका 'सेफ्टी होल्डिङ स्पेस'मा राखिने डीएसपी खनालले बताए । 

यसअघि साँझ ६ बजेभित्रै गाडीहरू चितवनबाट बाहिरिनु पर्ने भनिएकोमा पछि समय संशोधन गरेर नौ बजे बनाइएको हो ।  मौसमको अवस्था हेरेर गाडी सञ्चालनबारे थप निर्णय हुने पनि उनले बताए ।

पहिरोका कारण चितवनमा रोकिएका गाडीहरू आइतबार मध्याह्नदेखि गन्तव्यतर्फ लाग्न सुरू भएका थिए । राजधानी काठमाडौं र पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्दा गाडी चल्न सकेका थिएनन् । नारायणगढ-मुग्लिन सडकको तुइनखोला र कालीखोलामा पहिरो र ढुंगा खसेर बाटो बन्द भएको थियो । 

त्यसैगरी पृथ्वी राजमार्गको चितवन खण्डको फिस्लिङमा पहिरो खसेको थियो । पहिरोका कारण शनिबार दिनभरजसो र आइतबार मध्याह्नसम्म यी दुई सडक खण्डमा यातायात प्रभावित भएका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully