बेथानचोकका खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सिमाधारा, सयले र बनेपालीटोल गरी लगभग ७० परिवारलाई सामुदायिक भवनमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिकाका जोखिममा रहेका ७० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म गाउँपालिकाभित्रका वडा नं २ र ३ को खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सिमाधारा, सयले र बनेपालीटोल गरी लगभग ७० परिवार सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
उनका अनुसार, उनीहरूलाई मुक्तेश्वर सामुदायिक भवनमा राखिएको छ । अन्य वडाका जोखिममा रहेका बस्तीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको उनले बताए।
गाउँपालिकाको वडा नं ३ स्थित दुर्लुङ्ग खोलामा पानीको बहाब बढ्दै गएर खल्ङगा बस्तीमा समेत पसेको उनले जानकारी दिए । उनका अनुसार, शनिबारदेखिको निरन्तर वर्षाका कारण त्यस स्थानमा उच्च जोखिम रहेकाले गएराति सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
वर्षाका कारण पालिकास्थित पट्नेखोला र दुर्लुङ्ग खोलामा पानीको बहाब बढेको छ। हालसम्म कुनै पनि भौतिक तथा मानवीय क्षति भने भएको छैन।
