शनिबार अपराह्नदेखि आइतबार मध्याह्नसम्म करिब ५ सय सवारीसाधन पुष्पलाल राजमार्ग हुँदै राजधानी गएका छन् ।
दोलखा — भासिएर अवरुद्ध बनेकाे पुष्पलाल राजमार्गअन्तर्गत दाेलखाकाे तामाकोशी गाउँपालिका-१ भीरकाेट-कालीदह सडक एकतर्फी सञ्चालनमा आएकाे छ ।
बीपी राजमार्गमा पहिराे र राेशी खाेलाकाे कटानले अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा खाेटाङ-साेलुखुम्बु-ओखलढुंगा-रामेछाप लगायतका जिल्लाका सवारीसाधन पुषपलाल राजमार्ग हुँदै चरिकाेटबाट राजधानी जान थालेका छन् । कालीदह खण्ड भासिएपछि त्यसतर्फबाट आएका सवारीसाधन राेकिएकाे प्रहरीले जनाएकाे छ ।
यी जिल्लाबाट छुटेका अधिकांश सवारीसाधनले यही राजमार्ग प्रयाेग गर्न थालेपछि सवारी चाप बढेकाे छ । चाप व्यवस्थापन गर्न राजमार्गका ठाउँठाउँमा प्रहरी परिचालन गरिएकाे दाेलखाका प्रहरी प्रमुख ज्ञानकुमार महताेले बताए । उनका अनुसार शनिबार अपराह्नदेखि आइतबार मध्याह्नसम्म करिब ५ सय सवारीसाधन याे राजमार्ग हुँदै राजधानी गएका छन् ।
शनिबार राति सवारीसाधनकाे अत्यधिक चाप भएपछि त्यस क्षेत्रबाट आएका ३ सयभन्दा बढी सवारीसाधन चरिकाेटमा हाेल्ड गरेर आइतबार बिहान गन्तव्यका लागि छाडिएकाे थियाे ।
