वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएकाले बाढीको जोखिम हुने सम्भावना रहेकाले राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
काभ्रे — बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। निरन्तर पानी परिरहेकाले वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
उनका अनुसार, वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएकाले बाढीको जोखिम हुने सम्भावना रहेकाले राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
‘शनिबार बिहान ९ बजेदेखि जिल्लास्थित बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि नेपालथोक सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ,’ उनले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो।’
पानी निरन्तर परिरहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ।
