चितवनमा रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा राखिँदै

चितवनमा रोकिएका यात्रुलाई नारायणगढ, भरतपुर र सौराहासहित जिल्लाभरिका विभिन्न होटलमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

आश्विन १८, २०८२

रमेशकुमार पौडेल

Passengers staying at Chitwan are being accommodated in hotels at 75 percent discount

चितवन — अविरल वर्षाका कारण काठमाडौं र पोखरा जाने सडकमा पहिरो जान थालेपछि चितवनमै रोकिएका यात्रुहरूलाई ७५ प्रतिशत छुट दिएर होटलमा राख्ने निर्णय गरिएको छ ।

शनिबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा निकाय र होटल व्यवसायीका संघसंगठन र अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

चितवनमा रोकिएका यात्रुलाई नारायणगढ, भरतपुर र सौराहासहित जिल्लाभरिका विभिन्न होटलमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । यसरी छुटमा बस्ने यात्रुलाई फरक व्यवहार नगर्न प्रशासनले चेतावनी पनि दिएको छ । यसबारेमा  प्रहरी र होटल व्यवसायी संघका प्रतिनिधिले अनुगमन गर्ने पनि बताइएको छ । बढी शुल्क लिने वा अन्यथा गर्नेलाई कारबाहीसमेत हुने प्रशासनले जनाएको छ । 

चितवन जिल्ला प्रशासनले अर्को सूचना जारी नहुँदासम्म शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडी पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् ।

चितवन हुँदै राजधानी काठमाडौं र  पोखरा जाने नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग शनिबार बिहानैदेखि पहिरोबाट प्रभावित भएका थिए । नारायणगढ-मुग्लिन सडकको तुइनखोलामा पटक-पटक पहिरो झरेको छ । त्यसै गरी पृथ्वी राजमार्ग्गको कुरिनटार नजिक र धादिङ जवाङ खोला नजिक पहिरो गएर बाटो अवरुद्ध भएको थियो । चितवनका विभिन्न १४ ठाउँमा अगाडि बढ्न समस्या भएका गाडीलाई सुरक्षित रूपमा राखेको चितवन प्रहरीले जनाएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully