पर्यटन दिवसमा पटिहानीमा जुटे पर्यटन व्यवसायी, कामना गरे– ‘अब यस्तो कहिल्यै नहोस्’

पहिटानी चितवनको पुरानो पर्यटकीय क्षेत्र हो । २०४३ सालमै पहिटानी घटगाईमा होटल नारायणी सफारी सञ्चालनमा आएपछि यहाँ निकुञ्ज घुम्ने आउने विदेशी पर्यटकको घुइँचो लाग्न थाल्यो । सरकारले २०७५ सालको कात्तिकमा पटिहानीलाई नयाँ पर्यटकीय गन्तव्यको सयवटा ठाउँभित्र समावेश गर्‍यो । २०७६ सालको फागुनदेखि पटिहानीमा ‘अम्रेला स्ट्रिट’ सञ्चालनमा आयो ।

आश्विन ११, २०८२

रमेशकुमार पौडेल

Tourist businessmen gathered in Patihani on Tourism Day, wished - 'This will never happen again'

चितवन — पर्यटक नआएर पर्यटकीय क्षेत्रहरु सुनसान जस्तै भएको बेलामा पटिहानी जगतपुर क्षेत्रका पर्यटन व्यवसायीहरुले शनिबार परेको विश्व पर्यटन दिवस औपचारिक कार्यक्रम गरेर मनाएका छन् । विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा आडैमा रहेको यो क्षेत्रका पर्यटन व्यवसायी जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यस क्रममा भएको तोडफोडका कारण पर्यटन क्षेत्रमा साह्रै नकारात्मक प्रभाव परेको भन्दै चिन्तित देखिए ।

भरतपुर महानगरपालिका–२२ को वडा कार्यालय आडमा रहेको थारु कल्याणकारीको सभा हलमा भेला भएका पर्यटन व्यवसायीले यस्तो खाले घटना अब कहिल्यै नहोस् भन्दै कामनासमेत गरे । ‘देशको अवस्था संग्लिएर राम्रो हुन थाले पर्यटन व्यवसाय फेरि लयमा आउँछ । तर यस्तै भए पर्यटन कसरी चल्छ ? पर्यटन डुब्दा देशको अर्थतन्त्रको अवस्था के होला ? त्यसैले हामी कामना गर्दछौं यस्तो कहिल्यै नहोस्’ कार्यक्रम आयोजक संस्था कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डेले भने ।

पहिटानी चितवनको पुरानो पर्यटकीय क्षेत्र हो । २०४३ सालमै पहिटानी घटगाईमा होटल नारायणी सफारी सञ्चालनमा आएपछि यहाँ निकुञ्ज घुम्ने आउने विदेशी पर्यटकको घुइँचो लाग्न थाल्यो । सरकारले २०७५ सालको कात्तिकमा पटिहानीलाई नयाँ पर्यटकीय गन्तव्यको सयवटा ठाउँभित्र समावेश गर्‍यो । २०७६ सालको फागुनदेखि पटिहानीमा ‘अम्रेला स्ट्रिट’ सञ्चालनमा आयो । पछिल्ला यी दुई गतिविधिले देशभित्रै पनि पहिटानीको ख्याति उकालो लाग्यो भन्छन् भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो । 

यहाँ पुरानो नाराणी सफारीसहित इन्टु द वाल्ड, रिभर ब्यांक, कसरा रिसोर्ट, सोल्टी होटल समूहको सोल्टी वेस्टइन्ड रिसोर्ट, जंगल भिल्ला, जगतपुर लज र टाइगर ल्याण्ड रिसोर्ट जस्ता उत्कृष्ट पर्यटकीय होटलहरु छन् । अन्य साना र मझौला होटलहरु थप ४० वटा जति छन् । पटिहानी र जगतपुर क्षेत्रका यी होटल रिसोर्टहरुमा खास गरेर अलि बढी पैसा खर्च गर्ने विदेशी तथा स्वदेशी पर्यटक बस्न जाने गरेका छन् । ग्रामिण परिवेश भएका कारण शान्त ठाउँ छ । आडैमा रहेको राप्ती नदी र निकुञ्जको जंगलको प्राकृतिक आनन्द लिन पाइन्छ ।

‘यो मुख्य पर्यटकीय सिजन हो । अहिले बस्ने रुम नपाइने हुन्थ्यो । अग्रिम बुकिङ गरेकाहरु धमाधम आउँथे । कोही थपिए भने बस्ने ठाउँ छैन भन्नु पर्दथ्यो,’ सोल्टी वेस्टइन्ड रिसोर्ट सम्वद्ध केशव ढकालले भने । कासरा पर्यटन व्यवसायी समितिका सचिवसमेत रहेका ढकालले जेन–जीको आन्दोलनमा ज्यानै लिने गरेर राज्यबाट भएको दमन र त्यसपछि राजधानीका उच्च प्रशासनिक संरचनासहित देशका मुख्य सहरमा भएको आगजनी र तोडफोडले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए । 

‘भदौ २३ र २४ को घटनापछि हाम्रो रिसोर्टको बुकिङहरु धमाधम रद्द हुन थाले । आउँदो जनवरी, फेब्रुअरीसम्मको नै बुकिङ रद्द भइरहेको छ,’ उनले भने । ५२ वटा सुविधायुक्त कोठाहरु रहेको सोल्टीको शनिबार १२ वटा कोठामा मात्रै पर्यटक थिए । जेन–जी आन्दोलनले मात्रै हैन असोज पहिलो हप्ता काठमाडौं चितवन जोड्ने मुख्य सडकमा पहिरो आएर हप्ता दिन आवागमन प्रभावित हुँदा पनि पर्यटकले दुख पाए । सोल्टी आउन काठमाडौंबाट हिँडेको अमेरिकाका पर्यटकको २१ जनाको एउटा समूहले पहिरोका कारणले सास्ती बेहोर्‍यो । 

‘काठमाडौंबाट बसमा चढेका उनीहरु मध्याह्न १२ बजे चितवन आउने लक्ष्य थियो । तर पहिरो गएपछि दामन हुँदै आउँदा साँझ आठ बज्यो । भोलिपल्ट फर्कने योजना थियो । उनीहरु भरतपुरबाट जाहाज चार्टर गरेर पोखरा लागे । बाटो यस्तो हुँदा विश्व बजारमा सन्देश कस्तो गयो होला,’ ढकालले भने । विषम परिवेशका बीचमा पनि केही आशाका किरणहरु देखा परेको कोषाध्यक्ष गणेश पैडेलले बताए । जंगल भिल्ला रिसोर्टका सञ्चालक रहेका उनले असोज ५ गतेयता बुकिङ रद्द हुन छाडेका कारण अवस्था केही राम्रो हो किझैं भएको बताए ।

शनिबार उनको रिसोर्टमा जर्मनी र फ्रान्सबाट आएका र एकजना स्वदेशीसेमत गरेर ३२ जना पर्यटक छन् । जेन–जीको भदौ २३ को आन्दोलनपछि धेरै पर्यटक आएको यही हो भन्छन् पौडेल । उपाध्यक्ष चोपलाल पाण्डेको जगतपुर लजको पनि दुईवटा कोठाबाहेक शनिबार अरुमा पर्यटक आएका छन् । ‘यस कारण हामी आशावादी बनेका हौं,’ उपाध्यक्ष पाण्डेले भने । पर्यटनमा होटलसँगै स्थानीय अन्य कारोबार पनि जोडिएको हुन्छ ।

पटिहानीको गंगानगर दुग्ध सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटोले आफूहरुले उत्पादन गरेको दूध, घ्यु, पनिर, दही चितवनसहित देशका अन्य पर्यटकीय क्षेत्र पोखरा, बन्दिपुर र गोरखासम्म जाने गरेको बताए । पर्यटकीय चहलपहल नहुँदा सहकारीको उत्पादनको बिक्रीमासमेत कमी आएको उनले बताए । पहिटानी क्षेत्रमा होटल बढेसगै स्थानीयको आयआर्जनमा राम्रो प्रभाव परेको भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो बताउँछन् । २२ नम्बर वडामा मात्रै थारु समुदायका पाँचवटा सांस्कृतिक समूह रहेको उनले बताए । 

‘होटलमा गएर साँझ सांस्कृतिक कार्यक्रम देखाउनु हुन्छ  । दिनभरि घरको अन्य कामहरु गर्नु हुन्छ । होटल क्षेत्रमा धेरै स्थानीयले रोजगार पाएका छन् । कमजोर आर्थिक अवस्था छ भनिएका आदिवासी बोटे समुदायले पनि पर्यटनमा जोडिएर लाभ लिएका छन् । त्यसैले पर्यटन आर्थिक उन्नतिको ठूलो आधार हो,’ वडाध्यक्ष महतोले भने । पर्यटन क्षेत्रलाई संकटमा पर्ने काम कसैबाट हुन नहुने र संकट आएमा सबै मिलेर पार लगाउनु पर्ने उनको राय थियो । सफारी पर्यटनमा विश्वमै कहलिएको चितवनले यसबाट यथेष्ट लाभ लिन सक्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले नेपाल आउनेमध्ये ८० प्रतिशत विदेशी पर्यटक संरक्षित क्षेत्रहरुमा जाने गरेको हुँदा चितवनले यसबाट बढीभन्दा बढी लाभ लिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवनमा घुम्न सकिने पर्यटकीय स्थलहरु यथेष्ट रहेको हुँदा योजना बनाएर काम गरे पर्यटन विस्तार हुने धारणा राखे । ‘अहिलेको समय अनुकूल छैन जस्तो देखिए पनि यो खराब समय पनि बितेर जान्छ । त्यसैले सबै मिलेर अगाडि बढौं,’ उनले अपिल गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully